देवचुली महोत्सव पुस २५ देखि माघ ९ सम्म

नवलपुर, मंसिर ८ । “उद्योग, व्यापार, कृषि र पर्यटनको समृद्धि, समृद्ध र सुसंस्कृत नगरको उदय” भन्ने मूल नारासहित देवचुली महोत्सव-२०८२ आगामी पुस २५ गतेदेखि माघ ९ गतेसम्म देवचुली-१५ प्रगतिनगरमा हुने भएको छ।

 

महोत्सवको तयारीबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष सत्यनारायण भुषालले करिब १५ करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको बताए। महोत्सव देवचुली उद्योग वाणिज्य संघको आयोजनामा र देवचुली नगरपालिकाको मुख्य सहयोगमा सञ्चालन हुनेछ। कार्यक्रमको प्रमुख प्रायोजक देवचुली मल्टिप्लेक्स प्रालि रहेको छ ।

 

स्थानीय कृषि उत्पादनको बजार विस्तार, घरेलु तथा साना उद्योगको प्रवर्द्धन, पर्यटन क्षेत्रको प्रचार-प्रसार, स्थानीय कला-संस्कृतिको संरक्षण र युवालाई उद्यमशीलतामा आकर्षित गर्नु महोत्सवको प्रमुख लक्ष्य रहेको आयोजकले जानकारी दिएको छ। महोत्सवमा कृषि, पशुपन्छी सामग्री, हस्तकला, घरेलु उद्योग, लत्ताकपडा, अटोमोबाइल, बैंक-बीमा सेवासहित १५० स्टल रहनेछन्।

 

सांस्कृतिक कार्यक्रम, लोकनृत्य, राष्ट्रिय तथा स्थानीय कलाकारका प्रस्तुति, विद्यालयस्तरीय नृत्य-गायन प्रतियोगिता र खेलकुद गतिविधि महोत्सवका प्रमुख आकर्षण हुनेछन्। महोत्सवमा १ लाखदेखि १ लाख ५० हजारसम्म दर्शक सहभागी हुने अपेक्षा आयोजकले राखेको छ ।

 

सुरक्षा व्यवस्थाका लागि प्रहरी, स्वयंसेवक र निजी गार्ड खटाइनेछ भने ट्राफिक व्यवस्थापन, स्वास्थ्य सेवा, दमकल र सरसफाइमा विशेष ध्यान दिइने आयोजकले जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको