गैंडाकोट, मंसिर ९ । गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानले आगामी मंसिर १९ गते नगरस्तरीय निबन्ध प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतिष्ठानले सार्वजनिक गरेको सूचनाअनुसार प्रत्योगितामा नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा १ देखि ८ सम्म अध्ययनरत विद्यार्थीले सहभागिता जनाउन सक्नेछन्।
‘विद्यार्थी जीवनमा अनुशासनको महत्व’ शीर्षकमा आधारित निबन्ध लेख्न प्रतिस्पर्धीलाई ९० मिनेट समय प्रदान गरिने जनाइएको छ। प्रतियोगिताका लागि विद्यार्थीको नाम मंसिर १८ गतेसम्म दर्ता गराउनुपर्ने सूचनामा उल्लेख छ।
प्रतियोगितामा उत्कृष्ट निबन्ध प्रस्तुत गर्ने विद्यार्थीलाई आकर्षक नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिनेछ। जसअनुसार प्रथम हुनेलाई रु ४,०००, दोस्रोलाई रु ३,०००, तेस्रोलाई रु २,००० तथा प्रोत्साहन पुरस्कारस्वरूप रु १,००० प्रदान गरिनेछ।
प्रतियोगिता गैँडाकोट ८ स्थित श्री कालिका माविमा हुनेछ। थप जानकारीका लागि गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानको कार्यालयमा सम्पर्क गर्न सूचनामा अनुरोध गरिएको छ।







