गैँडाकोट, मङ्सिर १० । उद्योग, व्यापार, कृषि र पर्यटन प्रवर्द्धनलाई मुख्य उद्देश्यसहित चौथो गैँडाकोट महोत्सव पुस २५ गतेदेखि सुरू हुने भएको छ। उद्योग वाणिज्य संघ गैँडाकोटले आज पत्रकार सम्मेलन गर्दै नारायणी नदी किनारमा आयोजना हुन लागेको महोत्सवको विस्तृत योजना सार्वजनिक गरेको हो।
संघका अनुसार महोत्सवमा करिब २५० स्टल रहनेछ भने २ लाखभन्दा बढी दर्शक आउने तथा २५ करोड रुपैयाँभन्दा बढी आर्थिक कारोबार हुने अनुमान गरिएको छ। महोत्सवमा देशभरका उद्योगी-व्यवसायीसँगै भारत, पाकिस्तान र बंगलादेशका प्रदर्शकहरूले समेत सहभागिता जनाउनेछन्।
महोत्सवलाई प्रदर्शनी तथा बिक्री कक्ष, सांस्कृतिक तथा सांगितिक क्षेत्र, बाल उद्यान तथा मनोरञ्जन क्षेत्र र खानपान क्षेत्र गरी चार मुख्य क्षेत्रमा विभाजन गरिएको छ। अटोमोबाइल, बैंक तथा वित्तीय संस्था, इलेक्ट्रोनिक्स, कृषि-जडिबुटी, हस्तकला, तयारी पोशाक र दैनिक उपभोग्य सामग्रीलगायत विविध स्टलहरू रहनेछन्।
सांस्कृतिक क्षेत्रमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, फेशन शो, विद्यालय तथा सांस्कृतिक समूहका कार्यक्रम आकर्षण हुनेछन्। बाल उद्यानमा मनोरञ्जनात्मक खेल सामग्री, जलपरी तथा माछाका एक्वेरियम जडान गरिने आयोजकले जनाएको छ।
सुरक्षा तथा व्यवस्थापनका लागि महोत्सव स्थलमा सिसिटिभी निगरानी, एम्बुलेन्स, प्राथमिक उपचार, मिडिया सेन्टर, पार्किङ सुविधा तथा स्वच्छता व्यवस्थापनलाई विशेष रूपमा तयार गरिएको छ। संघले महोत्सवले स्थानीय उत्पादन, बजार विस्तार र पर्यटन क्षेत्रमा उल्लेखनीय प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले गैँडाकोटलाई द्रुत गतिमा अघि बढिरहेको उद्यमशीलताको केन्द्रका रूपमा वर्णन गर्दै भने, “गैँडाकोट उद्योग, व्यापार र पर्यटनको प्राकृतिक केन्द्रका रूपमा अघि बढिरहेको छ। यस्ता महोत्सवले स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोडेर उद्यमशीलतामा नयाँ ऊर्जा थप्छ। महोत्सवले गण्डकी प्रदेश मात्र होइन, देशकै आर्थिक गतिविधि गतिशील बनाउन सहयोग पुर्याउनेछ।”
उद्योग वाणिज्य संघ गैँडाकोटका अध्यक्ष दिपक सापकोटाले महोत्सवले स्थानीय उद्यमी, किसान र उत्पादकका लागि उत्कृष्ट बजार प्लेटफर्म हुने उल्लेख गर्दै भने, “महोत्सवमार्फत बजार विस्तार, नयाँ साझेदारी र प्रविधिको आदान-प्रदान हुने भएकाले यसको प्रत्यक्ष लाभ स्थानीय समुदायले पाउनेछ। महोत्सव आर्थिक, सामाजिक र सांस्कृतिक सबलीकरणको महत्वपूर्ण अवसर हो।”
कार्यक्रम संयोजक छबिलाल कडेलले महोत्सवका सबै संरचना व्यवस्थित रूपमा तयार भइरहेको जनाउँदै भने, “गैँडाकोट महोत्सव सबैका लागि हो-पर्यटक, व्यापारी, कलाकार, बालबालिका र परिवार सबैले एकै ठाउँमा विविध अनुभव पाउनेछन्। सफलता सबैको सहभागितामा निर्भर छ, त्यसैले सक्रिय साथ र समर्थन आवश्यक छ।” महोत्सव पुस २५ देखि माघ १० गतेसम्म निरन्तर सञ्चालन हुने छ।







