गैँडाकोट मेयर कपः लुम्बिनी र मधेश फाइनलमा भिड्ने

गैँडाकोट,फागुन ४ । नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनल चरण सम्पन्न भएको छ। सोमबार गैँडाकोट–९ स्थित नवजागरण खेलकुद मैदानमा भएका खेलबाट लुम्बिनी प्रदेश र मधेश प्रदेश उपाधि नजिक पुगेका छन्।

पहिलो सेमिफाइनलमा लुम्बिनी प्रदेशले आयोजक गैँडाकोट मेयर्स–११ लाई ४४ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्‍यो। टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८१ रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो।

१८२ रनको लक्ष्य पछ्याएको मेयर्स–११ ले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १३७ रन मात्रै जोड्न सक्यो।लुम्बिनीका कप्तान देव खनालले ५० बलमा ६ छक्का र ५ चौकासहित ७४ रनको उत्कृष्ट अर्धशतकीय पारी खेले। प्रज्वल थापाले ३८, सम्राट भुसालले २७ तथा दीपेश रोक्काले १५ रन योगदान गरे।

बलिङतर्फ मेयर्स–११ का चन्द्रकान्त पौडेलले ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।मेयर्स–११ का लागि दीपक बोहोराले ४४ र हरि चौहानले ४२ रन बनाए। तर अन्य ब्याटरले दोहोरो अंक जोड्न नसक्दा टोली दबाबमा रह्यो। लुम्बिनीका सलाउद्दिन खानले ४ ओभरमा १९ रन खर्चेर ५ विकेट लिँदै जितमा निर्णायक भूमिका खेले भने वीरबहादुर घर्ती मगरले ४ विकेट लिए।
सोमबार नै सम्पन्न दोस्रो सेमिफाइनलमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेश लाई ३ विकेटले पराजित गर्दै उपाधि नजिक पुग्यो।टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले २० ओभरमा ९ विकेट गुमाउँदै १५२ रन बनाएको थियो। १५३ रनको लक्ष्य पछ्याएको मधेशले १८.२ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो।

मधेशका पवन सर्राफले ३४ बलमा ५ छक्का र १ चौकासहित अविजित ५१ रनको अर्धशतक बनाए। मयन यादवले ३८ र कप्तान अनिलकुमार शाहले ३३ रन जोडे।सुदूरपश्चिमका कप्तान किरन ठगुन्नाले ३४ रनको योगदान दिए पनि टोलीलाई जित दिलाउन सकेनन्। अब प्रतियोगिताको उपाधिका लागि मंगलबार बिहान मधेश प्रदेश र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।जिल्लाकै ठूलो धनराशिको यस प्रतियोगितामा सात प्रदेशका सात टोली र आयोजक गरी आठ टोलीको सहभागिता रहेको थियो। विजेताले उपाधिसहित ३ लाख रुपैयाँ तथा उपविजेताले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

आयोजक नवजागरण ग्रामीण विकास केन्द्रका अध्यक्ष रामचन्द्र सापकोटाका अनुसार प्रतियोगिताको ‘म्यान अफ दि सिरिज’ लाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ भने उत्कृष्ट ब्याटर, बलर, फिल्डर र विकेटकिपरलाई जनही १५ हजार रुपैयाँ पुरस्कार दिइनेछ। साथै ‘बेस्ट क्याच अफ दि टुर्नामेन्ट’ लाई १० हजार, प्रत्येक खेलको ‘म्यान अफ दि म्याच’ लाई ५ हजार रुपैयाँ तथा नवप्रतिभा खेलाडीलाई विशेष प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको