गैंडाकोट, फागुन २ । लेखक निर्दोष जीवनको नयाँ कृति प्रेमको सुगन्ध सार्वजनिक गरिएको छ। गजल मञ्च चितवनद्वारा प्रकाशित उक्त कृति शुक्रबार गैंडाकोटस्थित द नारायणी रिसोर्टमा आयोजित समारोहबीच विमोचन गरिएको हो।
काव्य काफिया र वि फाइभको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार उषा शेरचन, काव्य काफियाका संयोजक रामकृष्ण अनायास, गैंडाकोट नगरपालिका–१ का वडाअध्यक्ष सुरेन्द्रप्रसाद रेग्मी तथा अक्षर समूह चितवनका अध्यक्ष लेखराम सापकोटाले संयुक्त रूपमा कृति विमोचन गरेका हुन्।
विमोचनपछि बोल्दै वडाअध्यक्ष रेग्मीले प्रेमले समाजलाई एकताको सूत्रमा बाँध्ने उल्लेख गर्दै प्रेम दिवसको अवसरमा सार्वजनिक भएको कृतिले सबैलाई प्रेममा समाहित हुन प्रेरणा दिने विश्वास व्यक्त गरे। प्रमुख अतिथि शेरचनले साहित्य संसारमा मुक्तक विधाको विशिष्ट योगदान रहेको बताउँदै निर्दोष जीवनका सिर्जनाहरू सुन्दर र प्रभावकारी रहेको धारणा राखिन्। त्यसैगरी सापकोटाले सङ्ग्रहमा प्रेमिल, सामाजिक, राष्ट्र तथा राष्ट्रियता र नारी जीवनका विषय समेटिएका विविध मुक्तकहरू समावेश रहेको उल्लेख गरे। उनले कृतिबाट केही मुक्तक वाचन गर्दै संरचनागत रूपमा पनि कृति सशक्त रहेको बताए।
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै स्रष्टा निर्दोष जीवनले प्रेमकै प्रसङ्गमा प्रसिद्ध लेखक पावललाई उद्धृत गर्दै प्रेम सहनशील, दयालु र अमर हुने विचार प्रस्तुत गरे। “प्रेमले डाह गर्दैन, शेखी गर्दैन, आफ्नै कुरामा जिद्दी गर्दैन। प्रेम सबै कुरा सहन्छ र प्रेमको कहिल्यै अन्त्य हुँदैन,” उनले उद्धरण सुनाए।
साहित्य लेखनसँगै गायन र संगीतमा पनि सक्रिय निर्दोष जीवनका यसअघि आशीर्वाद (गजल, मुक्तक र हाइकू सङ्ग्रह) प्रकाशित भइसकेको छ। उनका ‘नयाँ जीवन’, ‘प्रार्थना’, ‘मैयाँ’, ‘कोर्राको चोट’, ‘फस्ट लभ’, ‘प्रिय साथी’, ‘मेरो गीत’ र ‘नोष्टाल्जिया’ गरी नौ कृति सार्वजनिक भइसकेका छन्।







