गैंडाकोट, चैत्र १८ । गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड (गण्डकी साकोस) ले आर्थिक वर्ष २०८१/८२ को कारोबारका आधारमा सदस्यहरूलाई प्रदान गरिने संरक्षित पूँजीकोषको रकम एक विशेष कार्यक्रमका बीच वितरण गरेको छ।
कार्यक्रमको अध्यक्षता गर्दै संस्थाका अध्यक्ष गोविन्द सुबेदीले सहकारी संस्थाको दिगो विकासमा सदस्यहरूको सक्रिय सहभागिता र विश्वास नै मुख्य आधार भएको उल्लेख गर्दै उनले सहकारीमार्फत सामूहिक बचत र लगानीको संस्कृतिले आर्थिक सशक्तीकरणमा टेवा पुर्याउने बताए।
संस्थाका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सुबेदीले संरक्षित पूँजीकोष सदस्यहरूको दीर्घकालीन हितसँग जोडिएको महत्वपूर्ण व्यवस्था भएको स्पष्ट पार्दै संस्थाले सुरक्षित, पारदर्शी र सदस्यमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिँदै आएको जानकारी दिए।
समिति सचिव केशवराज शर्माको सहजीकरणमा सम्पन्न भएको कार्यक्रममा लेखा समिति संयोजक विष्णु प्रसाद शर्मा, सहकारी समन्वय मञ्च गैँडाकोटका अध्यक्ष तथा संस्थाका लेखा समिति सदस्य बाबुराम खनाल, लेखा समिति सदस्य राधादेवी आचार्य, सल्लाहकारहरू बेदप्रसाद गौडेल,कुलप्रसाद पाण्डे, पूर्वअध्यक्ष देवराज पौडेल लगायत सञ्चालकहरू तथा उत्कृष्ट कारोबार गर्ने १०० भन्दा बढी सदस्यहरूको उक्त कार्यक्रममा सहभागिता रहेको थियो।
संस्थाका उपाध्यक्ष केदारनाथ न्यौपानेले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा पूर्वअध्यक्ष देवराज पौडेल र सल्लाहकार बेदप्रसाद गौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए। संरक्षित पूँजीकोषबाट प्रतिफल प्राप्त गर्ने सदस्यहरूको तर्फबाट कृष्णामुरारी खनालले संस्थाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा थप सशक्त सहकार्यको अपेक्षा व्यक्त गरिन्।
१७ हजार १०० सेयर सदस्य र करिब २ अर्ब २० करोड रुपैयाँ कुल पूँजी रहेको गण्डकी साकोसले हरेक वर्ष नियमित बचत तथा ऋण कारोबार गर्ने सदस्यहरूलाई संरक्षित पूँजीकोषमार्फत प्रोत्साहनस्वरूप अतिरिक्त लाभ प्रदान गर्दै आएको छ। यस वर्ष सदस्यहरूलाई ४० लाख भन्दा बढी रकम वितरण गरेको हो। सदस्यहरूले न्यूनतम २० रुपैयाँदेखि अधिकतम ६२ हजार ५९२ रुपैयाँसम्म (बोनस) प्राप्त गरेका छन्, जुन रकम सदस्यहरूको सेयर बचत खातामा जम्मा गरिएको संस्थाले जनाएको छ।
संस्थाले आगामी दिनमा समेत सदस्यकेन्द्रित सेवा विस्तार गर्दै सहकारी क्षेत्रमा उत्कृष्टता कायम राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।










