गैंडाकोट, वैशाख १ । बागेश्वरी आध्यात्मिक परिषद् अन्तर्गत योगी नरहरीनाथ आश्रमको प्रकल्प योगी नरहरीनाथ योग तथा प्राकृतिक चिकित्सालय, भरतपुरका लागि अविनाश इन्डष्ट्रिज ग्रुपद्वारा निर्माण गरिएको भान्छाघरको उद्घाटन गरिएको छ। करिब ४० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न उक्त भान्छाघर आज आयोजित एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको हो।
उद्घाटन समारोहका प्रमुख अतिथि अविनाश ग्रुप अफ इन्डष्ट्रिजका अध्यक्ष गुणचन्द्र बिष्ट (स्वामी कृष्णनन्द भारती) ले यो भान्छाघर केवल एउटा संरचना मात्र होइन, यो सेवाको केन्द्र हो। यहाँ आउने बिरामी तथा साधकहरूलाई स्वच्छ, सात्विक र पोषिलो आहार उपलब्ध गराउने उद्देश्यले सहयोग गरेको उल्लेख गर्दै समाजमा स्वास्थ्य, योग र प्राकृतिक उपचारको महत्व दिनानुदिन बढ्दै र यस्तो अवस्थामा यस्ता संस्थाहरूलाई सहयोग गर्नु हाम्रो सामाजिक दायित्व भएकाले आगामी दिनमा पनि यस्ता सेवामूलक कार्यमा हाम्रो साथ र सहकार्य निरन्तर रहने बताए ।
कार्यक्रम बागेश्वरी आध्यात्मिक परिषद्का कार्यवाहक अध्यक्ष रामप्रसाद वस्तीको अध्यक्षतामा सम्पन्न भएको थियो। अध्यक्ष वस्तीले संस्थाले योग, प्राकृतिक चिकित्सा तथा आध्यात्मिक चेतनाको विकासका लागि निरन्तर काम गर्दै आएको उल्लेख गर्दै नयाँ भान्छाघरले सेवाग्राहीलाई थप सहजता प्रदान गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा परिषद्का संरक्षक शान्तप्रसाद पोखरेल र शैलेन्द्र कुमार पिया विशेष अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। त्यस्तै गोकुल भण्डारी, टिका पोखरेल, प्रमोद पनेरु, कपिल खनाल लगायतको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा योगी नरहरीनाथ योग तथा प्राकृतिक चिकित्सालयका संयोजक सडानन्द लामिछानेले स्वागत मन्तव्य प्रस्तुत गरेको कार्यक्रम लाई संस्थाका महासचिव दुर्गाप्रसाद भण्डारीले सहजीकरण गरेका थिए।








