निःशुल्क शिक्षा, पारदर्शी शुल्क र समयमै कक्षा सञ्चालनको माग गर्दै अभिभावक संघद्वारा सरकारलाई दबाब

गैंडाकोट, नवलपुर, वैशाख २ । नेपाल राष्ट्रिय अभिभावक संघ जिल्ला समिति नवलपुरले वर्तमान शैक्षिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै शिक्षा क्षेत्र सुधारका लागि विभिन्न मागसहित प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ।

 

संघले देशभरका अभिभावकहरूको साझा संगठनको रूपमा आफूलाई प्रस्तुत गर्दै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा अध्ययनरत विद्यार्थी, अभिभावक र शिक्षकसँग सम्बन्धित समस्याहरूको पहिचान गरी सरकारलाई खबरदारी गर्नु आफ्नो दायित्व भएको उल्लेख गरेको छ। हालको शैक्षिक परिस्थितिलाई मध्यनजर गर्दै संघले नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहसमक्ष पाँच बुँदे माग अघि सारेको छ।

 

संघले संविधानमा व्यवस्था गरिएको शिक्षा सम्बन्धी मौलिक हक कार्यान्वयन गर्न माग गर्दै कक्षा १२ सम्मको शिक्षा पूर्ण रूपमा निःशुल्क गर्नुपर्नेमा जोड दिएको छ। त्यसैगरी, संस्थागत विद्यालयहरूले लिने शुल्कलाई पारदर्शी र वैज्ञानिक बनाउनुपर्ने, १० प्रतिशत छात्रवृत्ति प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने र विद्यालयका सम्पूर्ण आर्थिक तथा शैक्षिक गतिविधि अभिभावक, शिक्षक र विद्यार्थीबीच पारदर्शी बनाउनुपर्ने माग गरिएको छ।

त्यस्तै, शैक्षिक सत्र सुरु भइसकेपछि ढिलो गरी भर्ना र कक्षा सञ्चालन गर्ने सरकारी निर्णयले विद्यार्थी र अभिभावकमा अन्योल सिर्जना गरेको भन्दै उक्त निर्णय पुनर्विचार गर्न र समयमै पठनपाठन सुरु गर्ने वातावरण बनाउन संघले आग्रह गरेको छ।

शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णयप्रति पनि संघले असन्तुष्टि जनाउँदै यसले पाठ्यक्रम पूरा गर्न समस्या हुने उल्लेख गरेको छ। त्यसैले आवश्यक परिमार्जन नगरी उक्त निर्णय लागू नगर्न र पुनर्विचार गर्न माग गरिएको छ। संघले विद्यार्थीहरूको पढ्ने नैसर्गिक अधिकार सुनिश्चित गर्नुपर्ने उल्लेख गर्दै शिक्षकलाई अन्य गैरशैक्षिक काममा नलगाउन तथा विद्यालयहरूमा सहज शैक्षिक वातावरण निर्माण गर्न सरकारसँग माग गरेको छ।

संघले आफ्ना मागहरू बेवास्ता गरिएमा अभिभावकहरूको हकहितका लागि सशक्त आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनीसमेत दिएको छ।

 

विज्ञप्तिमा संघका अध्यक्ष युवराज थापाले हस्ताक्षर गरेका छन् भने सचिव दुर्गा प्रसाद भुसालले सम्पर्क विवरण उपलब्ध गराएका छन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको