गैँडाकोट, चैत्र २० । गैँडाकोटस्थित मौलाकालिका मन्दिरको धार्मिक सेवा समिति गठनका लागि भइरहेको चुनावी प्रक्रियामा नयाँ मोड आएको छ। अध्यक्ष पदका प्रत्याशीमध्ये एक श्यामसुन्दर पराजुलीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
यसअघि अध्यक्ष पदमा काशिनाथ कंडेल, खगराज कंडेल र श्यामसुन्दर पराजुलीबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको थियो। तर पराजुलीले उम्मेदवारी फिर्ता लिएसँगै उनले आफ्नो उम्मेदवारी सहकार्य र सहमतिका लागि अपरीहार्य भएकाले आफ्नो समर्थन नयाँ कार्यसमितिप्रति रहेको समेत उनले बताएका छन्। अब अध्यक्ष पदमा कंडेलद्वयबीच मात्र प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको छ। पराजुलीको उम्मेदवारी फिर्तासँगै निर्वाचन समीकरणमा केही परिवर्तन आउने अनुमान गरिएको छ। यद्यपि उनले उम्मेदवारी फिर्ताको औपचारिक कारण “सहमति र सहकार्य” भन्दै आफ्नो विज्ञप्ति सार्वजनिक गरेका छन्।
अन्य पदहरूमा भने यसअघि तय भएअनुसार नै प्रतिस्पर्धा कायम रहेको छ। केही पदमा एकल उम्मेदवारी परेकाले निर्विरोध चयनको सम्भावना पनि देखिएको छ भने केही पदमा प्रतिस्पर्धा रोचक बनेको छ। निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेको र चैत्र २१ गते मतदान हुने तय गरिएको छ। आवश्यक परेमा मन्दिर परिसरमै मतदान केन्द्र स्थापना गरिनेछ।
मौलाकालिका मन्दिरसँग प्रत्यक्ष जोडिएको यस निर्वाचनलाई स्थानीय स्तरमा चासोका साथ हेरिएको छ भने अध्यक्ष पदमा अब हुने प्रतिस्पर्धाले नेतृत्व चयनमा थप स्पष्टता ल्याउने अपेक्षा गरिएको छ।







