वडा ६ को पहल: भाग्योदय र सिर्जनशील विद्यालयका विद्यार्थी परिवारलाई निःशुल्क स्वास्थ्य बीमा

गैँडाकोट, चैत २२ । गैँडाकोट नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष तथा शैक्षिक व्यक्तित्व सुभास चापागाईंले भाग्योदय र सिर्जनशील आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीका परिवारलाई निःशुल्क स्वास्थ्य बीमा उपलब्ध गराउने घोषणा गरेका छन् ।

बालबालिकाका लागि पोशाक र स्टेशनरी सामग्रीसमेत उपलब्ध गराइने प्रतिबद्धता जनाउँदै उनले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको उनले बताए। शनिबार भाग्योदय र सिर्जनशील आधारभूत विद्यालयको संयुक्त आयोजना तथा वडा नम्बर ६ को प्राविधिक सहयोगमा भाग्योदय आधारभूत विद्यालय परिसरमा शैक्षिक गुणस्तर सुधारसम्बन्धी अन्तरक्रियात्मक छलफल कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा जनप्रतिनिधि, टोल विकास संस्था, महिला समूह, शिक्षक तथा सरोकारवाला पक्षहरूको सहभागिता रहेको थियो।

छलफलका सहजीकर्ता शैक्षिक अभियन्ता गोपाल प्रसाद भण्डारीले बालबालिकालाई खुसी वातावरणमा सिकाइ सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै उनले खेलमुखी, व्यवहारिक र संस्कारयुक्त शिक्षामा ध्यान दिन आग्रह गर्दै अत्यधिक शैक्षिक बोझ नदिन सुझाव दिए। कार्यक्रममा वडा नम्बर ६ का जनप्रतिनिधिहरू चन्द्रबहादुर विश्वकर्मा, पवित्रा अधिकारी, कल्पना परियार, रणबहादुर दराईलगायतले विद्यालय सुधारका लागि आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाएका छन्। साथै विभिन्न संघ – संस्थाका प्रतिनिधि, अभिभावक तथा शिक्षकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम दुई सत्रमा सञ्चालन गरिएको थियो। पहिलो सत्रमा सरोकारवाला पक्षबीच अन्तरक्रिया गरिएको थियो भने दोस्रो सत्रमा शिक्षक, विद्यालय व्यवस्थापन समिति र जनप्रतिनिधिबीच केन्द्रित छलफल भएको थियो। छलफलपछि दुवै विद्यालयमा अनुगमन संयन्त्र गठन गरिएको छ। उक्त संयन्त्रमा जनप्रतिनिधि, टोल विकास संस्था, महिला समूह, विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा अभिभावक संघका प्रतिनिधिहरूलाई समेटिएको छ। संयन्त्रले विद्यालयको अवस्था अध्ययन, समस्या पहिचान तथा सुधारका कार्यहरूको अनुगमन गर्ने जनाइएको छ।

भाग्योदय आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष नारायण प्रसाद सापकोटाले सहकार्यमार्फत विद्यालयको गुणस्तर वृद्धि गर्न सकिने बताए। प्रधानाध्यापकहरू सीता लम्साल र शोभा सापकोटाले पनि बालबालिकाको समग्र विकास र गुणस्तरीय शिक्षाका लागि प्रतिबद्धता व्यक्त गरेका छन् ।

दुवै विद्यालयका परामर्शदाताका रूपमा शैक्षिक अभियन्ता गोपाल प्रसाद भण्डारी रहने जनाइएको छ। कार्यक्रममा सहभागी सबै पक्षले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि साझा प्रतिबद्धता व्यक्त गरेका छन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको