गैंडाकोट, चैत्र २९ । गैंडाकोट-६ स्थित भाग्योदय आधारभूत विद्यालयको ३७औँ वार्षिक उत्सव तथा अभिभावक भेला आइतबार विद्यालय प्राङ्गणमा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारी ले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि र समग्र सुधारका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले विद्यार्थीको समग्र विकासका लागि शिक्षक र अभिभावक दुवैको सचेत भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै विद्यालयको जीर्ण भवन मर्मत तथा निर्माणमा समेत सहयोग गर्ने बताए।
त्यसैगरी, वडा नम्बर ६ का अध्यक्ष सुभाष चापागाईं ले २०४६ सालमा स्थापना भएको विद्यालयलाई हालको अवस्थासम्म ल्याउन समुदायको महत्वपूर्ण योगदान रहेको स्मरण गरे। उनले भौतिक पूर्वाधार विकाससँगै अभिभावकको सचेतना वृद्धि आवश्यक रहेको उल्लेख गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षक, अभिभावक र सरोकारवालाबीच समन्वय र सहकार्य अपरिहार्य हुने धारणा राखे।
विद्यालयकी प्रधानाध्यापक सीता लम्साल ले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि सबै पक्षसँग सहकार्य गर्दै अघि बढ्ने बताइन्। उनले आधुनिक प्रविधिको प्रयोगमार्फत शिक्षण सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउँदै शैक्षिक गुणस्तर वृद्धि गर्ने लक्ष्य रहेको उल्लेख गरिन्।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद सापकोटा ले विद्यालयको विकासमा विभिन्न व्यक्तित्वहरूको योगदान स्मरण गर्दै आगामी दिनमा पनि भौतिक तथा शैक्षिक सुधारका योजनालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा गङ्गा बहादुर पाण्डे, नरहरी सापकोटा, डिल्लीप्रसाद अम्बै लगायत पूर्व अध्यक्ष, अभिभावक तथा विभिन्न समितिका सदस्यहरूको उपस्थिति रहेको थियो।
वार्षिक उत्सवको अवसरमा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो भने अक्षय कोषबाट प्राप्त ब्याज रकममार्फत शैक्षिक सामग्री समेत वितरण गरिएको विद्यालयले जनाएको छ। कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक तथा विविध प्रस्तुति दिएका थिए। समारोहको सहजीकरण शिक्षिका माया कंडेलले गरेकी थिइन्।








