गैंडाकोट, कार्तिक ५ । नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशनलाई लक्षित गर्दै युवा नेता करुणा सागर सुवेदीले नवलपुर जिल्ला सचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
सामाजिक तथा राजनीतिक सद्भाव, आपसी सहकार्य र पार्टीभित्रको एकतालाई मजबुत बनाउने उद्देश्यसहित सुवेदीले उम्मेदवारीको घोषणा गरेका हुन्। उनले आफ्नो अभियानलाई सफल बनाउन पार्टीका शीर्ष नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूबाट माया, सद्भाव, अमूल्य सल्लाह र अमूल्य सहयोगको अपेक्षा राखेका छन्।
यसअघि सम्पन्न १४औँ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधिहरूले देखाएको अगाध माया, विश्वास र मत नै आफ्ना लागि १५औँ महाधिवेशनमा सचिव पदमा अघि बढ्ने मुख्य प्रेरणा र आधार बनेको सुवेदीले बताए।
आफ्नो राजनीतिक यात्रामा अहिलेसम्म निरन्तर साथ र सहयोग पुर्याउने सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै उनले आगामी दिनहरूमा पनि सोही प्रकारको निरन्तर साथ, भरोसा र मार्गदर्शनको लागि विनम्र अनुरोध गरेका छन्।







