गैंडाकोट, कार्तिक ६। नेपाल प्रेस युनियन नवलपुरका अध्यक्ष खगराज सापकोटालाई मातृशोक परेको छ। उहाँकी ममतामयी माता देउरुपा सापकोटाको ८१ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको हो।
कावासोती नगरपालिका-८ निवासी सापकोटाको चितवनस्थित मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। विसं २००२ सालमा जन्मनुभएकी सापकोटा विगत एक वर्षदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो।
विभिन्न सामाजिक सङ्घसंस्थामा समेत सक्रिय रहनुभएकी स्वर्गीय देउरुपा सापकोटाका श्रीमान् लक्ष्मीप्रसाद सापकोटा, पाँच छोराहरू धनपति सापकोटा, शालिकराम सापकोटा, दुर्गामणि सापकोटा, खगराज सापकोटा र सूर्य सापकोटा तथा एक छोरी हुनुहुन्छ।







