गैँडाकोट, कार्तिक १३। गैँडाकोट नगरपालिकाका वडा नम्बर १,३, ४, ५ र ८ मा अवस्थित यस जय श्री सामुदायिक वन उपभोक्ता समूहको आगामी आठौं अधिवेशन नजिकिँदै गर्दा नेतृत्वका लागि सरगर्मी बढेको छ। यसैक्रममा गैँडाकोट-४ निवासी युवा, राजनीतिक तथा सामाजिक व्यक्तित्व दिनेशराज न्यौपानेले समूहको अध्यक्ष पदका लागि आफ्नो सशक्त दावेदारी प्रस्तुत गरेका छन् ।
लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय रहँदै विभिन्न संघसंस्था, विद्यालय तथा सामुदायिक विकासका गतिविधिमा सफल नेतृत्व प्रदान गरिसकेका न्यौपानेको सामाजिक क्षेत्रमा गहिरो दखल रहेको छ। युवा वर्गमा समेत लोकप्रिय र प्रभावकारी छवि बनाएका उनले अब सामुदायिक वनको समग्र विकास र सुदृढीकरणका लागि आफ्नो नेतृत्वदायी भूमिका निर्वाह गर्न तयार रहेको बताएका छन् ।
अध्यक्ष पदका उम्मेदवार न्यौपानेले सामुदायिक वनको संरक्षण, संवर्द्धन र उपभोक्ताहरूको हितका लागि आफूले अगाडि सार्ने महत्वपूर्ण योजना तथा भूमिकालाई बुँदागत रूपमा प्रस्तुत समेत गरेका छन्। न्यौपानेका प्रमुख योजना तथा प्रतिवद्धताहरू:
* वैज्ञानिक वन व्यवस्थापन र हरियाली प्रवर्द्धन: वन क्षेत्रको वैज्ञानिक सदुपयोग गर्दै काठ, दाउरा र अन्य वन पैदावारको उत्पादन वृद्धि गर्ने र जैविक विविधताको संरक्षणमा विशेष जोड दिने।
* पारदर्शिता र सुशासन: वन उपभोक्ता समूहको हरहिसाब तथा प्रशासनिक गतिविधिहरूमा पूर्ण पारदर्शिता कायम गर्दै उपभोक्तामैत्री सेवा प्रवाह सुनिश्चित गर्ने।
*आयआर्जन तथा स्वरोजगार सिर्जना: वन क्षेत्रभित्र जडीबुटी खेती, मौरीपालन, र अन्य लघु उद्यमहरू सञ्चालन गरी स्थानीय विपन्न तथा युवा वर्गलाई स्वरोजगारसँग जोड्ने।
* वन सुरक्षा र अग्नि नियन्त्रण: दाढेलो नियन्त्रण, चोरीसिकार रोक्न र अवैध फँडानी न्यूनीकरणका लागि आधुनिक प्रविधि तथा प्रभावकारी गस्ती प्रणालीको विकास गर्ने।
*सामुदायिक हित र पूर्वाधार विकास: वनबाट प्राप्त आम्दानीको उचित हिस्सालाई उपभोक्ताहरूको स्वास्थ्य, शिक्षा, खानेपानी र स्थानीय भौतिक पूर्वाधारको विकासमा खर्च गर्ने लगायत उपभोक्तामैत्री समन्वय: वडा नम्बर १,३, ४, ५ र ८ का सम्पूर्ण उपभोक्ताहरूको भावनालाई समेट्दै वन र उपभोक्ताबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने, लगायत स्थानीय स्रोतसाधनको न्यायोचित वितरण र वनको दिगो विकासका लागि आफ्नो अनुभव र ऊर्जा खर्चिने अङ्गीकार गरेका न्यौपानेको उम्मेदवारीसँगै जय श्री सामुदायिक वनको आठौं अधिवेशन थप रोचक र उत्साहजनक बन्ने अपेक्षा गरिएको छ।







