नवलपुर । नवलपुरमा एक महिनाको अवधिमा १७१ जनाले निशुल्क स्थायी बन्ध्याकरण सेवा लिएका छन । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले माघको पहिलो सातादेखि सुरु गरेको शिविर मार्फत १७१ जनाले स्थायी बन्ध्याकरण सेवा लिएका हुन । ९६ जना पुरुष र ७१ जना महिलाले भ्यासेक्टोमी र मिनिल्याप गरेको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा जिल्लाको देवचुली प्राथमिक स्वास्थ्य केन्द्रबाट माघ ७ गते सुरु भएको अभियान माघ २९ गते पितौजीघाट स्वास्थ्य केन्द्रमा आएर समापन भएको थियो ।
स्वास्थ्य कार्यालय नवलपुरका परिवार नियोजन सुपरभाईजर बीरबहादुर श्रेष्ठले जिल्लाका विभिन्न स्वास्थ्य केन्द्रमा चलाइएको शिविरमा सन्तानको रहर पुगेका महिला र पुरुषहरुले सेवा लिएको जानकारी दिए ।