भरतपुर, मङ्सिर ७ । स्रष्टा एवम् भजन गायक हिरालाल कँडेलको पछिल्लो खण्डकाव्य ‘आदर्श मीना’ सार्वजनिक भएको छ । आइतबार भरतपुर-१५ स्थित श्रीमद्भागवत सप्ताह विराट ज्ञान महायज्ञ परिसरमा आयोजित एक कार्यक्रमका बिच उक्त कृति सार्वजनिक गरिएको हो ।
आदर्श नारी विकास केन्द्रको आयोजनामा भएको सो कार्यक्रम केन्द्रका सचिव लक्ष्मी रिमाल पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठानका कुलपति गोविन्दराज विनोदी प्रमुख अतिथिका रूपमा रहेका थिए । सो अवसरमा विनोदीले कृति संक्षिप्त भएकाले सामाजिक एवम् राजनीतिक पृष्ठभूमिको लामो इतिहास बोकेकी आस्थाकी धरोहर मीनाकुमारी खरेलको जीवनवृत्तमा आधारित भई महाकाव्य तयार पार्न लेखक कँडेललाई सुझाव दिए ।
‘आदर्श मीना’ खण्डकाव्यमा मुख्य पात्र मीनाकुमारी खरेललाई सरल, सरस र भावपूर्ण भाषा तथा मनमोहक शैलीमा चित्रण गरिएको छ । कृतिमा उपमा, रूपक, प्रतीक र विम्बको रोचक प्रयोग गरिएको छ भने नायिकाको पुर्ख्यौली थलो गुल्मीको ददल्का, चितवनको भरतपुर र काठमाडौंसम्मको यात्रा र सन्दर्भलाई जोडिएको छ । निःस्वार्थ सेवा र त्यागपूर्ण यथार्थ कर्महरूले नायिकाको संघर्षशील जीवन, सेवाभाव र आदर्श व्यक्तित्वलाई अझ प्रभावकारी रूपमा उजागर गरेको कृतिमा उल्लेख छ ।
जम्मा १६१ वटा सुललित श्लोक समेटिएको उक्त खण्डकाव्यमा ८ वटा वार्णिक छन्द र १ मात्रिक छन्द गरी ९ वटा छन्दको प्रयोग गरिएको छ । गाउँले परिवेशमा हुर्कंदै गर्दा हृदयमा पलाएको स्वावलम्बी र सकारात्मक सोचकै कारण उहाँले संघर्ष, त्याग र सेवाको बाटो रोज्नुभएको मार्मिक कथावस्तुलाई कविले जीवन्त र चित्ताकर्षक शैलीमा प्रस्तुत गरेका छन् । कृतिले नारीलाई सौन्दर्य र ममताकी खानीका साथै त्याग, तपस्या, साहस र सेवाकी प्रतिमूर्तिका रूपमा चित्रण गर्दै ‘आफू जलेर अरूको जीवनमा उज्यालो छर्ने दीप नै नारीको सच्चा आदर्श’ रहेको सन्देश दिएको छ ।
कार्यक्रममा कृतिको समीक्षा तथा भूमिका सहप्राध्यापक रामचन्द्र कँडेल र स्रष्टा शान्ताकुमारी पौडेलले राखेका थिए । आदर्श नारी विकास केन्द्रका उपाध्यक्ष सरिता सुवेदी पाठकले सहजीकरण गर्नुभएको कार्यक्रममा शिक्षाविद् चूडामणि शर्मा कँडेल, उपसचिव गोपालप्रसाद कँडेल, भजन गायक अर्जुन सापकोटालगायत विशिष्ट अतिथि तथा भक्तजनहरूको उपस्थिति थियो । यज्ञ आश्रय भवन निर्माण र अक्षय कोष स्थापना गर्ने उद्देश्यले महायज्ञ आगामी ८ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।







