गैंडाकोट, मङ्सिर ७।गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड जिल्लामै सर्वाधिक आयकर दाखिला गर्ने संस्थाका रूपमा सम्मानित भएको छ।
‘राष्ट्रिय कर दिवस २०८३ तथा कर सप्ताह’को अवसरमा आन्तरिक राजस्व कार्यालय, कावासोतीले संस्थालाई सम्मान गरेको हो। आर्थिक वर्ष २०८१/०८२ मा कार्यालयअन्तर्गतका करदातामध्ये सबैभन्दा बढी आयकर दाखिला गरी राज्यको राजस्व संकलनमा उल्लेखनीय योगदान पुर्याएको भन्दै मंसिर ७ गते आयोजित कार्यक्रममा संस्थालाई सम्मान-पत्र प्रदान गरिएको हो।
सम्मान ग्रहणपछि संस्थाका अध्यक्ष गोविन्द सुवेदीले यो उपलब्धि संस्थाको आर्थिक अनुशासन, पारदर्शिता र सुशासनको प्रतिफल भएको बताउँदै उनले संस्थाले राज्यप्रतिको दायित्वलाई आत्मसात् गर्दै नियमित रूपमा कर दाखिला गर्दै आएको उल्लेख गरे ।
अध्यक्ष सुवेदीले आगामी दिनमा पनि राज्यको राजस्व संकलनमा योगदान पुर्याउनुका साथै सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत संस्थाको भूमिका थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे । जिल्लामै सर्वाधिक आयकर दाखिला गर्ने संस्थाका रूपमा प्राप्त यस सम्मानले संस्थाको वित्तीय पारदर्शिता, जिम्मेवार व्यावसायिक अभ्यास र सुशासनप्रतिको प्रतिबद्धतालाई थप स्थापित गरेको छ।







