गैंडाकोट, मङ्सिर ५ ।भोटेकोशी बाढीमा परी अकल्पनीय रूपमा ज्यान गुमाएका दिवङ्गत आत्माको चिरशान्ति र मोक्ष कामना गर्दै आगामी मंसिर ७ गते बैकुण्ठ चतुर्दशीका अवसरमा देवघाटधाममा एकदिने विशेष धार्मिक अनुष्ठान गरिने भएको छ ।
नारायणगढ र पर्सा क्षेत्रका महिला व्यवसायीहरूको सक्रियतामा आयोजना हुने उक्त अनुष्ठान सोमबार बिहान ७ बजेदेखि देवघाटधाममा सुरु हुने जनाइएको छ । धार्मिक मान्यताअनुसार बैकुण्ठ चतुर्दशीको दिनलाई दिवङ्गत पितृ तथा विदेह आत्माको सद्गति र मोक्ष प्राप्तिका लागि अत्यन्त पवित्र र फलदायी दिन मानिन्छ । हिन्दू परम्परामा हरिहर मिलनको विशेष दिनका रूपमा समेत लिइने यस पावन अवसरमा गरिने पाठपारायण, लक्ष्यदीप प्रज्ज्वलन र कथा वाचनले दिवङ्गत आत्माको शान्तिमा टेवा पुग्ने विश्वास गरिन्छ ।
आयोजकका अनुसार अनुष्ठानमा १७ जना ब्राह्मणद्वारा श्रीमद्भागवत पाठपारायण तथा विष्णुसहस्रनाम पाठ पारायण गरिनेछ । साथै लक्ष्यदीप प्रज्ज्वलनसँगै पण्डित श्री रविन्द्र चापागाईंद्वारा श्रीमद्भागवत कथा वाचन र भजन कीर्तनको कार्यक्रम तय गरिएको प्रमुख संकल्पकर्ता भजन गायक पवित्रा पौडेलले पत्रकार सम्मेलनमार्फत जानकारी दिएकी छन्। विपद्मा परी ज्यान गुमाएकाहरूको सम्झना र आत्मशान्तिका लागि महिला व्यवसायीहरूले आफ्नै पहल तथा निस्वार्थ भावनाका साथ यज्ञको आयोजना गरेको आयोजक पक्षले जनाएको छ ।







