पूर्वी चितवनका पत्रकार र जनप्रतिनिधिले लगाए कोरोनाविरुद्धको खोप

रत्ननगर । पूर्वी चितवनलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका पत्रकार र जनप्रतिनिधिहरुले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

रत्ननगर नगरपालिका, रत्ननगर अस्पताल र पूर्वी चितवन पत्रकार संघको सहकार्यमा पत्रकार तथा जनप्रतिनिधिहरुले खोप लगाएका हुन् । सरकारले तोकेको दोस्रो चरणको खोप अभियानअन्तर्गत यहाँका पत्रकार तथा जनप्रतिनिधिहरुले रत्ननगर अस्पतालमा खोप लगाएका हुन् ।

रत्ननगर नगरपालिकाकी निमित्त मेयर विमला दुवाडीले खोप लगाएर दोस्रो चरणको खोप अभियानको उद्घाटन गरेकी छन् । पूर्वी चितवनका अग्रज पत्रकार तथा संघका संरक्षक केशव भट्टराई र केपीकिरण शर्मा तथा उपाध्यक्षहरु राजेन्द आचार्य, अनिता अर्याल र सचिव ध्रुवराज खनाललगायतका दुई दर्जन पत्रकारहरुले खोप लगाएको संघका अध्यक्ष होमनाथ सापकोटाले जानकारी दिए ।

निमित्त मेयर दुवाडीसहित वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले खोप लगाउन सुरु गरेका छन् । दोस्रो चरणको खोप अभियानअन्तर्गत पूर्वी चितवनका चार नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, प्रहरी, सिमानमा खटिने प्रहरी, न्याय र निजामती सेवामा खटिने कर्मचारी, प्राधिकारण तथा संस्थानमा काम गर्ने कर्मचारी, बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारी तथा पत्रकारहरुलाई खोप लगाइने रत्ननगरका स्वास्थ्य शाखा प्रमुख माधव पौडेलले बताए ।

छुटेका स्वास्थ्यकर्मीहरुलाई पनि दोस्रो चरणमा खोप लगाइने छ । पूर्वी चितवनमा दोस्रो चरणमा करिब तीन हजार जनालाई खोप लगाउने योजना रहेको पौडेलले बताए ।

रत्ननगर अस्पतालका मेसु डा. विश्वबन्धु बगालेले खोप लगाएपछि सामान्य ज्वरोबाहेक अन्य लक्षण नदेखिने बताए । ज्वरो आएमा दुई दिन सिटामोल खाएपछि ज्वरो निको हुने उनको भनाइ छ । डा. बगालेले खोप लगाएका सबैलाई ज्वरो नआउने बताए । दोस्रो चरणको खोप अभियान फागुन ६ गतेसम्म चल्ने छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको