नवलपुर । सरकारले आईतबारदेखि सुरु गरेको कोरोना विरुद्धको दोस्रो चरणको खोप अभियानलाई प्रभावकारी बनाउन जिल्ला स्वास्थ्य कार्यालय पूर्वी नवलपरासीले अलग अलग स्थान मार्फत खोप लगाउदै छ ।
हिजो आईतबार जिल्लाका २ वटा खोप केन्द्र मार्फत सेवा दिइएकोमा आज (सोमबार) देखि जिल्लाका अलग अलग तीनवटा खोपकेन्द्र मार्फत सेवा प्रदान गर्न लागिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विरबहादुर श्रेष्ठले मध्यविन्दु जिल्ला अस्पताल, दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्र र गैँडाकोट प्रस्तावित नगर अस्पताल (पितौजीघाट हेल्थ पोष्ट) बाट खोप लगाईने बताउनु भयो ।
उहाँका अनुसार कावासोती नगरपालिका, मध्यविन्दु नगरपालिका, हुप्सेकोट गाउँपालिका तथा विनयीत्रिवेणी गाउँपालिकाका जनप्रतिनधि र कर्मचारीहरुले मध्यविन्दु जिल्ला अस्पताल खोप केन्द्रबाट खोप लगाउने छन । त्यसैगरी देवचुली नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा खोप लगाईने छ ।
गैँडाकोट नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई गैँडाकोट प्रस्तावित नगर अस्पताल (पितौजीघाट हेल्थ पोष्ट)मा पुगेर खोप लगाउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।
भारतको सेरम इन्सटिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप ७० प्रतिशत प्रभावकारी मानिएको छ । खोपले कुनै असर नगर्ने भएकाले निर्धक्कका साथ खोप लगाएर कोरोना विरुद्धको अभियानमा सहभागिता जनाउन स्वास्थ्य कार्यालय नवलपुरले आग्रह गरेको छ ।
आईतबारदेखि सुरु भएको दोस्रो चरणको खोप अभियान नवलपुरमा फागुन ५ गतेसम्म चल्ने छ । सरकारले माघ १४ गतेबाट कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको थियो ।