चितवन,४ फागुन ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भगवान रामको जन्म चितवनको माडी अयोध्यामा भएको प्रमाणित गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएका छन् ।
दाहाल–नेपाल समूह निकट प्रेस संगठन चितवनले आज (मंगलबार) विहान भरतपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले माडीमा राम जन्मेको प्रमाणि भए सबैभन्दा खुशी आफू हुने भन्दै –‘पुरातत्व अन्वेषणबाट प्रमाणित भयो भने, मेरो निर्वाचन क्षेत्रमा अयोध्या हो, मेरै निर्वाचन क्षेत्रमा राम जन्मेको हो भन्ने पुष्टि भयो त्यसलाई स्थापित गर्न सकियो भने नेताहरु मध्ये सबैभन्दा खुशी हुने त मेरै भागमा हुन्छ म त्यसको किन विरोध गर्ने ।’
यस्तै अध्यक्ष प्रचण्डले माडीलाई मणि बनाउने कुरामा प्रधानमन्त्रीले नै अवरोध गरेको बताए । ‘माडीलाई मणि बनाउन नदिन ओली नै दोषी छन् । उहाँले जति सहयोग गर्नुपर्ने हो गर्नु भएन’–अध्यक्ष प्रचण्डले भने । आफूले बाटो, पुल निर्माणलाई अघि बढाएको भन्दै माडीमा विकासको लहर सुरु भएको बताए । उनले प्रधानमन्त्री ओलीलाई विकास विरोधीको संज्ञा दिँदै त्यसका बाबजुत पनि माडीमा विकास गर्न सफल भएको बताए ।