चितवनमा पनि लागू भयो ‘क्युआर कोड’ : तरकारी झोलामा, पैसा बैंक खातामा

भरतपुर । एनएमबी बैंकले भरतपुर महानगरस्थित क्षेत्रपुरमा रहेको महानगर फलफूल तथा तरकारी बजारमा क्युआर कोड लागू गरेको छ । काठमाडौँबाहिर पहिलोपटक भरतपुरमा यो सेवा दिइएको हो ।

ग्राहकले क्षेत्रपुरस्थित फलफूल तथा तरकारी बजारमा गएर तरकारी खरिद गर्ने ग्राहकले अब डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने भएका छन् । मंगलबार कार्यक्रम आयोजना गरी व्यवसायीलाई क्युआर कोड वितरण गरिएको हो ।

कुनै पनि ग्राहकले अब क्युआर कोडमार्फत नगदरहित भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाएको छ । नगदरहित कारोबारलाई प्रवद्र्धन गर्न भन्दै बैंकले क्युआर प्रणाली अघि सारेको एनएमबी बैंकका बागमती प्रदेश प्रमुख गणेश पराजुलीले बताए । ग्राहकले आफ्नो मोबाइलमा क्युआर कोड स्क्यान गरी आफूले खरिद गरेको तरकारीको मूल्य सीधै भुक्तानी गर्न सक्नेछन् । ग्राहकले भुक्तानी गरेको रकम बिक्रेताको बैंक खातामा तत्कालै संकलन हुने प्रमुख पराजुलीले बताए ।

व्यवसायीहरुको उपस्थितिमा कार्यक्रम सुरूवात भएको हो । क्युआर कोडमार्फत साना तथा मझौला उद्यमीलाई डिजिटल बैंकिङतर्फ प्रोत्साहन गर्ने प्रयास जारी रहेको बैंकका क्षेत्रीय प्रमुख दुर्गाराम पुरीले बताए । बैंकले साना तथा मझौला उद्यमीलाई लक्षित गरी विगतदेखि सहकार्य गर्दै आएको दाबी क्षेत्रीय प्रमुख पुरीको छ ।

महानगर फलफूल तथा तरकारी बजारका प्रबन्ध निर्देशक थिरप्रसाद धितालले आर्थिक कारोबार सुरक्षामा क्युआर प्रणाली उपयुक्त हुने विश्वास व्यक्त गरे । विज्ञान र प्रविधिको बदलिँदो युग र युगअनुसारको मानवीय गतिविधिलाई आत्मसात् गर्नुको विकल्प नभएकाले तरकारी र फलफूलमा मात्र नभई अन्य कारोबारमा पनि यसको मह¤व रहेको धितालको भनाइ छ ।

नगद लिने र बैंकमा जम्मा गर्न जानुपर्ने झन्झट टरेको, नगद साथमा हुँदाको असुरक्षा हटेको र समयको समेत बचत भएको भन्दै उनले क्युआर कोड लागू हुनु व्यवसायीका लागि गर्वको विषय भएको प्रतिक्रिया दिए । व्यवसायी र ग्राहक दुवैका लागि सुरक्षित र भरपर्दो माध्यम बनेको उनको भनाइ छ ।

बुधबार, फागुन ०५, २०७७ प्रकाशीत

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको