बैतडी घटनापछि कांग्रेस नेताहरूले भने- ओली सरकारको पतन अब धेरै टाढा छैन

बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर ३ मा मंगलबार नेपाली कांग्रेसको सभामा ढुंगामुडा गरेर केन्द्रीय सदस्य एनपी साउद सहितलाई घाइते बनाएकोमा कांग्रेसका नेताहरूले विरोध गरेका छन्।

उक्त घटनामा नेकपा ओली समूहका स्थानीय कार्यकर्ता संलग्न रहेको आरोप कांग्रेसको छ। साउद, डिला संग्रौला र नेविसंघ पूर्वअध्यक्ष नैनसिंह महर सहभागी कार्यक्रममा नेकपा ओली समूहले आक्रमण गरेको आरोप कांग्रेसको छ।

उक्त घटनाको कांग्रेसका उपसभापति विमलेन्द्र निधिले निन्दा गरेका छन्। ‘ढुंगामुडाबाट घाइते हुनु भएका एनपी साउदसहित युवा र विद्यार्थी नेताहरूको स्वास्थ्य लाभको कामना गर्दै दोषीउपर कारवाहीको माग गर्दछु,’ निधिले भनेका छन्।

यस्ता घटना हुनुमा सत्ता नेतृत्वको निरंकुश र सर्वसत्तावादी चरित्रको प्रतिविम्व भएको निधिको भनाइ छ।

‘यस्ता कायरतापूर्ण आक्रमणबाट तर्सेर कांग्रेस अभिव्यक्ति स्वतन्त्रता र सभासम्मेलन गर्ने अधिकारको प्रयोगबाट पछि हट्ला भन्ने कसैले सोचेको छ भने त्यो फगत दिवास्वप्न मात्रै हो। यो आक्रमण सत्तारुढ पार्टी नेतृत्वको सोच र शैलीलाई कार्यकर्ताहरूले अनुशरण गर्दाको नतिजा हो भन्नेरुपमा हामीले लिएका छौं। प्रष्ट भन्नुपर्दा यो घटना सत्ता नेतृत्वको निरंकुश, सर्वसत्तावादी र अलोकतान्त्रिक चरित्रको प्रतिबिम्ब हो,’ निधिले भनेका छन्।

कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले हिंसा कायरहरूको हतियार भएको बताएका छन्।

‘बैतडीमा एन.पी साउद र डिला संगाैला सहभागी भएको नेपाली कांग्रेसको सभालाई लक्षित गरेर ओली पक्षका कार्यकर्ताले गरेको आक्रमण निन्दनीय छ। हिंसा कायरहरूको हतियार हो। निषेध र आक्रमणको यो शैली सत्ता-शक्तिको उन्माद र ओलीको हतास मनस्थितिको उपज हो,’ थापाले भनेका छन्, ‘वैधता र वैधानिकता दुवै गुमाएको ओली सरकारको पतन अब धेरै टाढा छैन।’

उक्त कार्यक्रमका एक वक्ता नेविसंघ पूर्वअध्यक्ष नैनसिंह महरले सरकार समर्थित अराजक समूहले आफूहरूको कार्यक्रममा अवरोध र ढुंगा प्रहार गरेको बताएका छन्।

‘कम्युनिस्ट सर्वसत्तावाद विरुद्धको काङ्ग्रेसको संघर्ष (बिरोध) कार्यक्रम, सरकार समर्थित केही अराजक समुहको अवरोध र ढुंगामुढा प्रहारका वावजुत डिलासैनीको पंसेरामा हामीले भब्यतापूर्वक कार्यक्रम सम्पन्न गरेका छौँ,’ उनले भने।

ढुंगामुडाबाट कांग्रेसका केन्द्रिय सदस्य साउद, युवा नेता शैलेश विष्ट, नेविसंघ पूर्वकेन्द्रिय सदस्य सुमन केसी, नेविसंघ शंकरदेब क्याम्पस इकाइ सचिव मदनराज उपाध्यायलगायत ५ जना घाइते भएको तथा पाँच वटा सवारी साधनमा क्षति पुगेको महरले जानकारी दिए।

घटनापछि नेपाल तरूण दलका अध्यक्ष जितजंग बस्नेतले विज्ञप्ति जारी गर्दै यस्ता आक्रमण भइरहे तरूण दल चुप लागेर नबस्ने बताएका छन्।

‘आगामी दिनमा यस्ता भौतिक आक्रमणका घटना फेरि पनि दोहरिए नेपाल तरुण दल चुप लागेर नबस्ने चेतावनी दिन चाहान्छौं। घटनामा संलग्न सम्पुर्ण दोषीलाई चाँडो भन्दा चाँडो पक्राउ गरि कारबाहीको जोडदार माग गर्दछौं,’ उनले भनेका छन्।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले घटनाका दोषीलाई पक्राउ गरी कारवाहीको माग गरेका छन्।

बुधबार, फागुन ०५, २०७७ प्रकाशीत

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको