
नवलपरासी । गोलभेडाले बजार नपाएपछि पश्चिम नवलपरासीको बर्दघाटका किसानहरुले बर्दघाट नगरपालिका परिसरभित्रै टमाटर फालिदिएका छन् ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका किसानहरुले आफूले उत्पादन गरेको दुई गाडीमा ल्याइएको ३० क्विन्टल टमाटर नगरपालिकाको कार्यालयभित्रै फालेर विरोध गरेका हुन् । बर्दघाट नगरपालिका–१४ र ७ का किसानहरुले ३० हजार मूल्यबराबरको टमाटर फालेको बताएका छन् ।
स्थानीय किसानहरुको उत्पादनले बजार नपाउने र भारतीय आयातित टमाटर खुलेआम बिक्री भएको भन्दै उनीहरुले नगरपालिकाको गेटदेखि प्रत्येक कोठा र गल्लीमा टमाटर फालेर विरोध जनाएको स्थानीय किसान नीलकण्ठ नेपालले बताए ।
किसानहरुले नगरप्रमुख धिरज शर्मा बस्याललाई ज्ञापन–पत्र बुझाउनका लागि नगरप्रमुखको उपस्थित हुनुपर्ने माग गरे पनि नगरप्रमुख शर्मा बस्याल भने उपस्थित भएनन् ।
नगरप्रमुख ज्ञापन–पत्र बुझ्न नआएको भन्दै किसानहरु थप आक्रोसित हुँदै नाराबाजी गरेका थिए । किसानहरुले नगरप्रमुख बस्यालको कार्यकक्षमा पनि टमाटर फाल्न खोज्दा नगर प्रहरीले रोक्ने प्रयत्न गरेको थियो ।
किसानहरुको भीडलाई नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ४ का वडा अध्यक्ष रवीन्द्रविक्रम हमालले सम्बोधन गर्दै किसानहरु आन्दोलित हुने स्थिति सिर्जना हुनु दुःखद् भएको भन्दै किसानहरु मर्कामा परेकोले र आफू पनि किसानहरुसँगसंगै रहने विश्वास दिलाए ।
आन्दोलनरत किसानहरुलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नगर इन्चार्ज रूद्रप्रकाश उपाले किसानको आन्दोलनप्रति समर्थन रहेको बताए । उनले किसानहरुको उत्पादनको बजारीकरणका लागि जिम्मेवार बन्न नगरपालिकालाई आग्रह गरे ।
भूइँमा पोखिएको टमाटर नभई किसानहरुले गरेको मिहिनेत र पसिना बगेको बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले बताए । उनले नगरपालिकाको तर्फबाट कुनै सुनुवाइ नभए थप कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
बिहिबार, फागुन ०६, २०७७ प्रकाशीत