काठमाडौँ, ६ फागुन।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले जहिले पनि आदरार्थी भाषाको प्रयोग गरेको बताएका छन् । ओलीले सर्वोच्च अदालत पुगेर अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ दिदँै यस्तो बताएका हुन । जवाफमा प्रधानमन्त्री ओलीले अदालतप्रति आफ्नो उच्च सम्मान रहेको उल्लेख गर्दै न्याय सम्पादनका क्रममा हुने काम कारबाहीमा कुनै अवरोध नगरेको बताएका छन् ।
ओलीले अदालतबाट भएका फैसला तथा आदेशको आफू नेतृत्वको सरकारबाट सदैव पालना र कार्यान्वयन भएको पनि बताएका छन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको मुद्दामा बहस गरिरहेका वकिलहरूलाई अपमान नगरेको पनि प्रस्ट पारेका छन् ।
प्रधानमन्त्री ओलीले जवाफमा लेखेका छन्, ‘मैले कुनै खास कानुन व्यवसायीको नाम लिएर न कुनै वक्तव्य दिएको छु नत कुनै कानुन व्यवसायीलाई बहस नगर्न वा न्याय सम्पादनमा अवरोध गरेको छु । मैले जहिले पनि आदरार्थी भाषाको प्रयोग गरेको छु । प्रस्तुत मुद्दाको कुनै प्रयोजन नदेखिँदा मबाट अदालतको अवहेलना भएको भन्ने दाबी नै अनुचित र खारेजभागी छ ।’
प्रधानमन्त्री ओलीले माघ ९ गते आयोजित एउटा कार्यक्रममा प्रतिनिधिसभा विघटनको मुद्दामा बहस गरिरहेका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गर्दै बाजे वकिललाई लगेर अदालतमा तमासा देखाइरहेको अभिव्यक्ति दिएका थिए ।
बिहिबार, फागुन ०६, २०७७ प्रकाशीत