फागुन १४ गते गैंडाकोटमा अर्गानिक खाना महोत्सव हुने

गैंडाकोट, ६ फाल्गुन । गैंडाकोटमा अर्गानिक खाना महोत्सव हुने भएको छ । आगामी फाल्गुन १४ गते गैंडाकोटको द फेमिली क्याफेमा ‘कछार अर्गानिक खाना महोत्सव – २०७७’ हुने आयोजकले जनाएको छ । ‘कछार अर्गानिक खाना महोत्सव – २०७७’ का आयोजक देवघाट-गैंडाकोट सम्पर्क समाजले विहिबार पत्रकार सम्मेलन गरि सो कुराको जानकारी गराएका हुन । समाजका संयोजक खडक पाङ्मी आले मगरको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा दुर्गम क्षेत्रमा पाईने शुद्ध अर्गानिक उत्पादनका परिकारहरु महोत्सवमा राखिने जनाईएको छ । तनहुँको देवघाटबाट गैंडाकोटमा आएर बसोबास गर्नेहरुले गठन गरेको देवघाट-गैंडाकोट सम्पर्क समाजले गुड फ्राईडेको अवसरमा पहिलो पटक यसप्रकारको अर्गानिक खाना महोत्सवको आयोजना गर्नलागेको हो । महोत्सवमा दुर्गम तथा पाहाडी क्षेत्रमा उत्पादन भएका तरुल, सिस्नो, बोडी, मकै, भट्टमास, बनतरुल, गिठा, घोँगी, हाँस, कालो सुगुर, लोकल कुखुरा, माछा आदिका परिकारहरुसहित मासको बारा, सामा काउनीको भात, खयरको चिया, चिचर, ढिकर र चटनी समावेश गरिने देवघाट गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापाले जानकारी दिनुभयो ।
दुर्गम तथा पहाडी भेगमा उब्जाईएको उत्पादनहरुको प्रचार प्रसार गर्ने र लोपोन्मुख कला संस्कृतिको जगेर्ना गर्ने महोत्सवको उद्देश्य रहेको थारु कल्याणकरी समिति, गैडाकोटका अध्यक्ष लक्ष्मी प्रसाद चौधरीले जानकारी दिनुभयो । सो अवसरमा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको टोलीले परम्परागत संस्कृति सहितको कौरा, झ्याउरे, चुट्का, मारुनी, सालैज्यु सहित थारु जातीको स्टिक डान्स र झाम्रा डान्स पनि प्रस्तुत गरिने साँस्कृति संयोजक हिमकुमार थापाले जानकारी दिएका थिए । गैंडाकोट नगरपालिका र देवघाट गाउँपालिकाको संयोजनमा हुनलागेको खाना महोत्सवको सहआयोजकमा कराँदिप सामुदायिक होम स्टे, देवघाट र द फेमिली क्याफे एण्ड रेष्टुरेन्ट गैंडाकोट रहेका छन् ।

बिहिबार, फागुन ०६, २०७७ प्रकाशीत

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको