प्रतिनिधिसभा पुनस्र्थापना : ओलीलाई राजीनामा दिन सुझाव

भरतपुर । प्रधानमन्त्री केपि ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको संसद् विघटनलाई सर्वोच्च अदालतले पुनस्र्थापना गरिदिएको छ । १३ दिनभित्रै संसद् बैठक बोलाउनसमेत सर्वोच्च अदालतले आदेश दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले मंगलबार संसद् विघटनलाई बदर गरेका हुन् । प्रधानमन्त्री ओलीको संसद् विघटन सिफारिसलाई सदर गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् ।

प्रधानमन्त्री ओलीको सो कदमलाई प्रतिगमनको संज्ञा दिँदै आन्दोलन गर्दै आएको नेकपा प्रचण्ड–माधव समूहले आज बुधबार चितवनमा गर्न लागेको विरोध सभामा सम्बोधन गर्न मंगलबारै चितवन आएका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सर्वाेच्च अदालतको संसद् पुनस्थापनको निर्णयको मुक्त कण्ठले प्रशंसा गरे । अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले संसद् पुनस्र्थापना गरिदिएर नेपाली जनतालाई न्याय दिएको बताए । उनले भने, ‘नेपाली जनताको जित भएको छ, लोकतन्त्रको जित भएको छ, सर्वोच्च अदालतले सही फैसला गरेको छ ।’

उनले सबै नेपालीको जित भएको बताउँदै भने, ‘कुर्चीको निम्ति होइन यो लडाइँ, संविधानको लागि हो ।’ उनले प्रधानमन्त्री केपी ओलीलाई तत्काल राजीनामा दिन सुझाव दिएका छन् । उनले भने, ‘म केपी ओलीलाई भन्न चाहन्छु अलिकति नैतिकता छ भने, लाज छ भने तपाइँ तुरून्त राजीनामा दिनहोस्, यसैमा सबैको कल्याण हुनेछ ।’

आन्दोलनमा लागेका सबैप्रति बधाई दिँदै अध्यक्ष प्रचण्डले भने, ‘अब दलहरुसँग छलफल अगाडि बढाउँछौँ, वार्ता गर्छौँ तर केपी ओलीसँग कुनै किसिमको सहमति हुँदैन, त्यो सम्भावना पनि छैन ।’

अध्यक्ष प्रचण्डले कार्यकर्ताहरुलाई देशभरि विजयोत्सव मनाउन निर्देशन दिएका छन् । अध्यक्ष प्रचण्डले भने, ‘चितवन भाग्यमानी छ, हामी दुई अध्यक्ष माधव नेपाल र म चितवन आएको बेलामा विजयोत्सव मनाउन पाइयो ।’ अध्यक्ष प्रचण्डले विरोध सभाको लागि चितवन आएका हौँ, तर यहाँ आएपछि विजयोत्सव मनाउन पाइयो ।’

नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक भनेका छन् । उनले भने, ‘सर्वोच्चले ऐतिहासिक फैसला गरेको छ, सम्पूर्ण नेपालीको जित भएको छ ।’ नेता नेपालले सर्वोच्चको न्यायिक फैसलाले अधिनायकवादको ठाउँ नरहेको बताए ।

निरकुंश शासकले अब ठाउँ पाउँदैनन् भन्ने प्रमाणित भएको नेता नेपालले बताए । उनले असंवैधानिक कदमविरूद्धमा उभिएका सबैलाई धन्यवाद दिए । नेपालले कतै सूर्य उदाइरहेको र कतै सूर्य अस्ताइरहेको बताए । उनले भने, ‘न्यायको जित भयो, जनताको जित भयो’ उनले भने, ‘निरंकुशताले चोटिलो जवाफ दिएको छ, साहसी कदम हो, ऐतिहासिक फैसला हो ।’ उनले दीपावली मनाउन सम्पूर्ण न्यायप्रेमी देशवासीलाई आग्रह गरे ।

नेता नेपालले भने, ‘केपी ओलीका मान्छेहरु आँखा खोल्नुहोस्, भ्रमबाट मुक्त हुनुहोस् ।’ उनले देशभरि आन्दोलनमा जाँदै गर्दा चितवन आएर विजयउत्सव मनाउन पाइएको भन्दै खुसी व्यक्त गरे ।

बुधबार, फागुन १२, २०७७ प्रकाशीत

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको