क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या

बैतडी- जिल्ला कारागार बैतडीमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या भएको छ ।

पच्चीस जनाको क्षमता रहेको जिल्ला कारागारमा हाल ७३ कैदीबन्दी छन् । क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापन र सुरक्षा चुनौती थपिएको जेलर अनिल तिवारीले जानकारी दिए ।

‘कैदीबन्दी बढी हुँदा बसोबास र सुरक्षाका दृष्टिकोणले चुनौती छ’, उनले भने, ‘बस्ने ठाउँ अभावमा त्रिपाल राखेर कैदीबन्दीलाई राख्नु परिरहेको छ ।’

कारागारमा अहिले ३२ कैदी र ४१ थुनुवा छन् । भित्र बस्ने ठाउँ नभएपछि कारागारको आँगनमा टेन्ट राखेर कैदीबन्दीलाई बसोबासको व्यवस्था मिलाइएको छ ।

‘दश जना टेन्टभित्र बसिरहेका छन् भने बाँकीलाई कोठाभित्र बसोबासको व्यवस्था मिलाइएको छ’, उनले भने, ‘कोठाको अभावमा दुईतले खाट बनाएर कैदीबन्दीलाई बसोबासको व्यवस्था मिलाइएको छ ।’

जीर्ण भवन रहेको र कोठा पनि कम रहेकाले निकै समस्या झेल्नुपरेको छ ।

जिल्ला कारागारमा बसोबासको उचित व्यवस्था नहुँदा कैदीबन्दीले बेलाबेलामा गुनासोसमेत गर्ने गरेका छन् । विसं २०४० मा निर्माण गरिएको कारागार भवनलाई बेलाबेलामा मर्मत गरिएको भए पनि कोठा थपिएको छैन ।

एकातिर भवनमा कोठाको अभाव छ भने अर्कोतिर कैदीबन्दी बढ्दै जाँदा बसोबासको व्यवस्था मिलाउन गाह्रो भइरहेको जनाइएको छ ।

आइतबार, फागुन १६, २०७७ प्रकाशीत

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको