माडीका ग्रामीण भूभागमा अझै बलेन बिजुली

माडी । दुई वर्षमा माडी नगरपालिकालाई पूर्णरुपमा विद्युतीकरण गरिसक्ने नेपाल विद्युत् प्राधिकरणले लक्ष्य लिएको भए पनि हालसम्म पनि माडीका ग्रामीण भूभागमा विद्युतीकरण हुन सकेको छैन । मानवबस्ती रहेका क्षेत्रहरुमध्ये माडी–२ को आँपेखाल्डो र समी खाल्डो क्षेत्र, माडी–३ को सिमरा र पौहारी तथा माडी–९ को प्याउली र बाँदरझुलामा विद्युतीकरण हुन नसकेको हो ।

माडी नगरका सबै घरधुरीमा विद्युत् सेवा पु¥याउन यसवर्ष करिब १३ करोडबराबरका आयोजनाहरु कार्यान्वयनको चरणमा छन् । त्यसबाट माडीका करिब ९५ प्रतिशत घरधुरीमा विद्युतीकरण भैसकेको नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रका प्रमुख इन्जिनियर शिशिर लम्साल बताउँछन् । आँपेखाल्डो, प्याउली र बाँदरझुलाजस्ता ग्रामीण भेगमा केही असहजता भए पनि माडीका बाँकी भागमा अबका केही महिनामा पूर्ण विद्युतीकरणको काम पूरा हुने उनले दाबी गरे ।

इन्जिनियर शिशिर लम्सालका अनुसार १५ महिनाको अवधिमा करिब ४८३७ ग्राहक थप भएका छन् भने ९९ जना ग्राहकलाई चुहावटमा कारबाही गराई ५ लाख ३० हजार असुली गरिएको छ । हाल विद्युतीकरण चालू राखी करिब १५०० थान घर मिटर बत्ती जडान गरिएको उनले बताए । ‘माडीका सबै गाउँमा विद्युत् सेवा दिने गरी लाइन विस्तार तीव्र पारेका छौँ’, उनले भने, ‘केही महिनामा सबै घरमा बिजुली बाल्ने वातावरण बनाइनेछ ।’ बिजुली पुगिसकेको क्षेत्रमा करिब ९५ प्रतिशत घरधुरीले बिजुली बाल्न पाइरहेको उनले बताए ।

घरधुरी सर्वेक्षण २०७४ तथा राष्ट्रिय जनगणना २०६८ अनुसार माडीमा ४३ हजार ४ सय २ जनसंख्या छ । ८ हजार ६ सय ४९ घरधुरी छन् । चनौलीबाट ३३÷११ केभी लाइन माडी वसन्तपुरमा रहेको सवस्टेसनमा लगेर माडीमा विद्युत् सेवा दिइँदै आइएको छ ।

माडीमा विद्युत् लैजान चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युत् लाइन भूमिगत गरिएको छ । त्यसको सात ठाउँमा ज्वाइन्टहरु छन् । ती ठाउँहरुमा नै पटकपटक समस्या आउने गरेको छ । यता, केही समयअघिसम्म चितवन राष्ट्रिय निकुञ्जको अण्डरग्राउन्डमा देखिने गरेको समस्याले महिनौँसम्म विद्युत् प्रवाह अवरूद्ध हुने समस्या समाधान भए पनि आन्तरिक समस्याले पटकपटक अवरोध हुँदा अझै पनि स्थानीय जनताका साथै प्राधिकरणका कर्मचारीहरुले समेत हैरानी भोग्न बाध्य छन् । माडीमा सामान्य हावा चल्दा, पानी पर्दासमेत धेरै पोलहरु ढल्ने गर्दा कामको गुणस्तरप्रति स्थानीयले शङ्कासमेत व्यक्त गर्दै आइरहेका छन् ।

माडीमा विसं २०५६ सालमा पोल गाडेर तारसमेत टाँगियो । बिस्तारै पोल ढले, तार चुँडियो । तर, माडीवासीको घरको अँध्यारो सोलारले कम ग¥यो । २०६६ सालदेखि माडीमा विद्युतीकरणको आयोजना सुरू भएको होे । योजना सुरू गर्दा विसं २०६९ सालको फागुनसम्ममा माडीमा बिजुली पु¥याउने लक्ष्य राखिएको थियो ।

माडी विद्युत् सवस्टेसनको उद्घाटन तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले २०७३ मंसिर ४ गते गरेका थिए । तर, चितवन राष्ट्रिय निकुञ्जका कारण विद्युत् हाइटेन्सन वा भूमिगत प्रणालीबाट लानेमा धेरै वर्ष विवाद चर्केपछि ढिलो गरी आयोजनाले पूर्णता पाएको थियो ।

बुधबार, फागुन १९, २०७७ प्रकाशीत

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको