भरतपुर । २०७७ फागुन १० गते भरतपुर–३ स्थित नगर वनको सडकछेउमा एक जना अपरिचित पुरूषको शव फेला प¥यो ।
प्रहरीले घटनाबारे अनुसन्धान गर्दै जाँदा उक्त शव लमजुङको मस्र्याङ्दी गाउँपालिका वडा नं–५ घर भई हाल भरतपुर–१, नारायणगढ बजारमा डेरा गरी बस्ने वर्ष ४८ का गोपाल गुरूङको भएको पुष्टि भयो ।
घटनास्थलको प्रकृति र पोस्ट मार्टम रिपोर्ट हेर्दा कुटपिटबाट हत्या भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेपछि प्रहरीले गहिराइमै पुगेर अनुसन्धान ग¥यो । अनुसन्धान गर्दै जाँदा घटना भएको १२ दिनपछि घटनामा संलग्न तीन जनालाई पक्राउ गर्न प्रहरी सफल भयो ।
गुरूङको हत्यामा संलग्न भएको आरोपमा चितवन प्रहरीले गैँडाकोट–२ घर भई नारायणगढको पुलचोकस्थित जानकी गेष्ट हाउसमा म्यानेजरको रुपमा कार्यरत वर्ष ४२ का सञ्जय गजुरेलसहित चितवन जिल्ला भरतपुर–२७ बस्ने वर्ष २५ का विक्रम महतो र चितवन जिल्ला कालिका नगरपालिका वडा नं–७ बस्ने वर्ष ३० का रामबहादुर परियारलाई पक्राउ गरी बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।
मृतक गुरूङसँग सामान्य विवाद हुँदा कुटपिटका क्रममा ज्यान गएको अभियुक्तहरुले स्वीकार गरिसकेको चितवन प्रहरीले जनाएको छ । पक्राउ परेका तीनैजनाविरूद्ध चितवन जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको चितवन प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) ओमप्रसाद अधिकारीले जानकारी दिए ।
शव व्यवस्थापनमा अटोको प्रयोग
सामान्य विवादका क्रममा गुरूङको मृत्यु भएपछि जानकी होटलका म्यानेजर गजुरेल र परियारले महतोको अटो बोलाएर शव व्यवस्थापन गरेको खुल्नमा आएको प्रहरीले जनाएको छ ।
‘प्रारम्भिक अनुसन्धानका क्रममा आआफूबीचमै विवाद सिर्जना भएपछि कुटपिट गर्दा गुरूङको मृत्यु भएको देखिन्छ, घटनालाई लुकाउन गजुरेल र परियारले महतोको अटो बोलाएर शव व्यवस्थापन गर्न खोजेको देखिन्छ’, एसपी अधिकारीले भने, ‘सोही आरोपमा हामीले विक्रम महतोले चलाउँदै आएको ना २ ह १२४० नम्बरको अटोसमेत नियन्त्रणमा लिएका छौँ ।’
साथै, मृतकले प्रयोग गर्दै आएको मोबाइल एक थान जानकी गेष्ट हाउसको काउन्टरबाट, झोला एक थानसहित तीन थान सर्ट, दुई थान हाफपाइन्ट र एक थान टिसर्ट गेष्ट हाउसको छतबाट बरामद गरेको प्रहरीले जनाएको छ ।
बिहिबार, फागुन २७, २०७७ प्रकाशीत







