रत्ननगर । पूर्वी चितवनको कालिका नगरपालिकाको चेपाङबस्तीमा बालविवाह र बहुविवाह रोक्न निगरानी समिति बनाइने भएको छ । चेपाङ समुदायका किशोरकिशोरीले उमेर नपुग्दै विवाह गर्ने प्रचलनको अन्त्य गर्न निगरानी समिति बनाइएको हो ।
चेतनाको कमीका कारण जति कार्यक्रम गर्दा पनि बालविवाह र बहुविवाह अन्त्य हुन नसकेपछि निगरानी समिति बनाउन लागिएको महिला तथा बालबालिका शाखा प्रमुख सम्झना ढकालले जानकारी दिइन् । कालिका नगरपालिकाअन्तर्गत अगुवा चेपाङ महिला पैरवी मञ्च कृषि सञ्जाल र डेक नेपाल सौराहाले आयोजना गरेको महिला तथा बालबालिका शाखाको बजेट सोधखोज तथा अन्तक्र्रिया कार्यक्रम उनले बालविवाह र बहुविवाह रोक्न केही दिनभित्र निगरानी समिति बनाइने बताइन् ।
सर्वपक्षीय निगरानी समितिले बालविवाह रोक्न पहल गर्ने, गर्दै गरेको जानकारी भए प्रहरी तथा स्थानीय सरकारलाई खबर गर्ने र बालविवाह र बहुविवाहविरूद्ध चेपाङबस्तीमा जनचेतना अभिवृद्धि गर्न कार्यक्रम सञ्चालन गर्नेछ ।
शाखा प्रमुख ढकालले नगरपालिका, प्रदेश सरकार र केन्द्र सरकारमार्फत आएको बजेटअनुुुसार महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुको सशक्तीकरण, विकास, संरक्षण र उत्थानका लागि काम भइरहेको बताइन् । डेक नेपाल सौराहाका निर्देशक जनक कार्कीले चेपाङ महिलाहरुलाई योजना निर्माण प्रक्रिया, विकास निर्माण र सामाजिक विकृतिविरूद्ध लड्न सक्ने बनाउने गरी चेपाङबस्तीमा कार्यक्रम सञ्चालन भइरहेको बताए ।
अगुवा चेपाङ महिला पैरवी मञ्च कृषि सञ्जालकी अध्यक्ष लक्ष्मी चेपाङको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं–९ की वडा सदस्य तथा कार्यपालिका सदस्य भूवकुमारी राना, नेपाल चेपाङ संघ कालिका नगर कमिटी अध्यक्ष कृष्णबहादुर चेपाङ, अगुवा चेपाङ महिला पैरवी मञ्च कालिका–११ की अध्यक्ष सजिना चेपाङ, वडा नं–११ की स्थानीय स्रोत व्यक्ति सविता चेपाङलगायतले मन्तव्य राखेका थिए ।
बिहिबार, फागुन २७, २०७७ प्रकाशीत