सत्ता सहकार्यबारे कांग्रेस लामो समय मौन बस्नुहुन : खाँड

बुटवल, १३ चैत । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले सत्ता सहकार्यका विषयमा पार्टी लामो समय मौन बस्न नहुने बताएका छन् । संविधान रक्षाका लागि कोसंग हातेमालो गर्ने भन्नेबारेमा पार्टी नेतृत्वले छिटो निर्णय गर्नुपर्ने धारणा राखे ।

बुटवलमा राज्य टेलिभिजनले गरेको कार्यक्रममा उनले भने ‘लामो समय मौन बसेर हुन्न, संविधान रक्षा गर्न कोसंग हातेमालो गर्ने कोसंग संघर्ष गर्ने भन्ने निक्र्योल र निर्णय गर्नैपर्छ ।’

नेता खाँडले मुलुकको पछिल्लो राजनीतिक अवस्था जनताले चाहे भन्दा धेरै पृथक भएकाले समयमै निकास दिन नसके ठूलो निराशा र विद्रोह हुनसक्ने तर्क गरे ।

अहिलेको सरकार विस्थापन गरी नयाँ सरकारको नेतृत्व गर्न नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसलाई आग्रह गरे पनि कांग्रेसले यस विषयमा निर्णय गर्न सकेको छैन ।

यसै सन्दर्भमा नेता खाँडले वर्तमान सरकारले संविधानमाथि प्रहार गरिरहेको भन्दै संविधानको रक्षा र पालना गर्ने दलहरुसंगसहकार्य गर्ने बताए । उनले कोसँग सत्ता सहकार्य गर्ने भन्ने बारेमा कांग्रेसले छिट्टै निर्णय लिने पनि बताए ।

वर्तमान सरकार बनेकै दिनदेखि संविधान, लोकतन्त्र, प्रेस स्वतन्त्रता र मानव अधिकारमाथि प्रहार सुरु भएको भन्दै खाँडले आफैंले विघटन गरेको संसद सर्वोच्चले पुनःस्थापना गरेपछि प्रधानमन्त्रीलाई एक मिनेट पनि पदमा रहने नैतिकता नभएको बताए ।

शुक्रबार, चैत १३, २०७७ प्रकाशीत

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको