भरतपुर । चितवनको भरतपुर आँखा अस्पतालमा वायु प्रदूषणबाट हुने आँखाका समस्या लिएर आउने बिरामी बढ्न थालेका छन् । चितवनको वायु प्रदूषणले सोमबार खतराको तह नाघेको छ ।
रियल टाइम एयर क्वालिटी इन्डेक्स (एक्युआई)का अनुसार यतिबेला चितवनको वायु प्रदूषण चार सय (एक्युआई) नाघेको हो । वायुमा प्रदूषण बढेसँग आँखाका बिरामीको संख्या पनि बढ्न थालेको छ ।
भरतपुर आँखा अस्पतालका सूचना अधिकारी रमेश घिमिरेले वायु प्रदूषित हुन थालेपछि आँखाका बिरामीहरु बढ्न थालेको बताए । उनले भने, ‘कति बिरामी बढे भनेर तथ्याङ्क राखेका छैनौँ, तर वायुमा प्रदूषण बढ्न थालेपछि बिरामीको संख्या अघिपछिको तुलनामा बढेको छ ।
उनले आँखा चिलाउने, बिझाउने, सुख्खा हुने, पोल्ने समस्या लिएर बिरामी आइरहेका बताए । सूचना अधिकारी घिमिरेले भने, ‘वायु प्रदूषणबाट आँखामा हुने समस्या लिएर नै धेरै बिरामी आइरहेका छन् ।’ उनका अनुसार वायु प्रदूषणको असर बालबालिकादेखि वृद्धसम्म पर्छ । दिनानुदिन वायु प्रदूषणको मात्रा बढिरहँदा आँखाका बिरामीको संख्या बढिरहेको उनी बताउँछन् ।
सूचना अधिकारी घिमिरेले वनमा लागेको डढेलो, ग्यासबाट निस्कने विषाक्त धुवाँ, धुलोका कण, विषाक्त रसायन तथा दुर्गन्धका कारण वायु प्रदूषण बढिरहेको बताए । सास फेर्ने क्रममा वायुसँगै यस्ता विषाक्त त¤व आँखामा समेत प्रवेश गरी विभिन्न समस्याहरु ल्याउने हुनाले आँखालाई सुरक्षित गर्नुपर्ने उनी बताउँछन् ।
‘आँखा वायुको प्रत्यक्ष सम्पर्कमा रहन्छ । यही कारण प्रदूषित वायुले आँखामा सीधै असर पार्छ र विभिन्न समस्या निम्त्याउँछ’, उनले भने, ‘वायु प्रदूषणका कारण आँखामा एलर्जीसमेत हुने गर्छ, जसलाई चिकित्सकीय भाषामा ‘एलर्जिक कन्जक्टिभाइटिस’ भन्ने गरिन्छ । आँखा पोल्छ, चिलाउँछ, रातो हुन्छ र आँखाको सङ्क्रमणसमेत हुन्छ ।’
आँखाका चिकित्सकहरुले वायु प्रदूषणबाट जोगिन सकेसम्म घरभित्रै बस्ने सल्लाह दिएका छन् । उनीहरुका अनुसार घरबाहिर निस्कन परेमा मुखमा मास्क र आँखामा कालो चस्मा अनिवार्य लगाउनुपर्छ ।
बाहिर कतै गएर घर फर्किएपछि आँखालाई राम्ररी सफा गर्नुपर्छ । ‘हामी मुख धोएपछिमात्रै आँखा सफा हुन्छ भन्ने सोच्छौँ त्यस्तो होइन, वायु प्रदूषणको समय छ, दिनको ८÷१० चोटि चिसो पानीले आँखा धोइरहनुपर्छ’, आँखा अस्पतालका सूचना अधिकारी घिमिरेले भने । उनका अनुसार वायु प्रदूषणले आँखामा घाउ बनाउने र उपचार नभएको खण्डमा दृष्टिसमेत गुम्न सक्छ ।
भरतपुर आँखा अस्पतालमा दैनिक ४५० जनाको हाराहारीमा आँखाका बिरामी आउँछन् । यस अस्पतालका चितवनमा रहेका अन्य उपचार केन्द्र तथा शाखाहरु गरी दैनिक एक हजार जना बिरामी आँखाको समस्या लिएर आएका हुन्छन् ।
भरतपुर आँखा अस्पतालमा आँखाका जम्मा बिरामीको संख्यामध्ये एक चौथाइको हाराहारीमा वायु प्रदूषणबाट हुने आँखाको समस्या लिएर आउने गरेका छन् ।
बुधबार, चैत १८, २०७७ प्रकाशीत