काठमाडौं । सरकारले त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई जनही चार लाख दिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले फुटबल खेलाडीलाई जनही चार लाख रुपैयाँ दिने निर्णय गरेको हो ।
सोमबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै त्रिदेशीय कप फुटबलको उपाधि जितेको थियो ।
नेपालका लागि सन्जोग राई र विशाल राईले गोल गर्दै नेपाललाई विजयी गराएका थिए । ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको नेपालले पाँच हजार डलर पुरस्कार समेत प्राप्त गरेको थियो ।
यसअघि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले पनि विजेता खेलाडीलाई जनही एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिसकेको छ । सो प्रतियोगिताको लिग चरणमा नेपालले किर्गिस्तान र बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो ।
फाइनलमा भने नेपालले २–१ को जित निकालेको थियो । नेपाल र बंगलादेशको फाइनल खेल हेर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली पनि रंगशाला जानुभएको थियो ।
शुक्रबार, चैत २०, २०७७ प्रकाशीत