गैंडाकोट, भदौ १९ । एसपीएम कलेज युवा रेडक्रसको आयोजना तथा नेरेसो गैंडाकोट आदर्श उपशाखाको समन्वयमा नेपाल रेडक्रस सोसाइटीको ६२औं स्थापना दिवस “मानवतालाई जीवित राखौं” भन्ने मुल मर्मका साथ सम्पन्न भयो ।
युवा रेडक्रस समितिका अध्यक्ष सुमन पण्डितको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेरेसो जिल्ला शाखाका सदस्य विष्णु शर्मा प्रमुख अतिथि रहनुभएको थियो । उहाँले रेडक्रस अभियान र जिल्ला गतिविधिमाथि चर्चा गर्नुभएको थियो । शिक्षक नायक माधवप्रसाद सिग्देलको स्वागत मन्तव्य रहेको सो कार्यक्रममा कलेजका प्राचार्य दीपेन्द्र पौडेल, नेरेसो गैंडाकोट आदर्श उपशाखा जुनियर युवा विभागका संयोजक दोलराज पाण्डेले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।
प्राध्यापक गोविन्द रिमालको सहजीकरण रहेको सो कार्यक्रममा गैंडाकोट उपशाखाका सभापति उमाकान्त सापकोटा, जनप्रतिनिधि सीता सापकोटा, प्राध्यापक संघ सभापति अर्जुन गिरी, स्ववियूका उपसभापति श्याम बाचेलगायत कलेजका प्राध्यापक र विद्यार्थीहरूको सहभागिता रहेको थियोे । विश्व रेडक्रस अभियानमा सहभागी हुने उद्देश्यका साथ, विश्वमा रेडक्रसको स्थापना भएको झन्डै १०० वर्ष पछी नेपालमा नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वरप्रसाद सिंहको अध्यक्षतामा तदर्थ समितिले नेपालमा रेडक्रसको स्थापना गरेको थियो । हाल नेपाल भरि जिल्ला शाखा, उपशाखा, जुनियर/युवा समितिका माध्यमबाट रेडक्रस गतिविधि सन्चालनमा रहेका छन् ।