सम्पूर्णले गर्यो ‘म पनि पढ्छु’को दोस्रो शृङ्खला

भरतपुर, ३० भदौ । ६० औँ राष्ट्रिय बाल दिवसका अवसरमा सम्पूर्ण किताबले `म पनि पढ्छु´को दोस्रो शृङ्खला गरेको छ । शनिबार आयोजित कार्यक्रममा विभिन्न विद्यालयका ६ जना विद्यार्थीले पठन अनुभव र अनुभूति प्रस्तुत गरे ।

`बालबालिकामा लगानी सुनिश्चित भविस्यको थालनी´ नाराका साथ शनिबार मुलुकभर ६० औँ बाल दिवस मनाइएको छ । सम्पूर्ण किताबले पनि यसै अवसर पारेर `पढौँ र पढाऔँ´ अभियान अन्तर्गत `म पनि पढ्छु´ को दोस्रो शृङ्खला गरेको हो ।

कार्यक्रमको सुरुवातमा अर्किड स्कुलमा कक्षा ५ मा पढ्ने कृति न्यौपानेले प्रस्तुति दिइन् । उनले थोमस अल्बा एडिसनको जीवनी पढेर उक्ति जीवनीबाट आफू सफलताको सुत्र सिकेको बताइन् । त्यसैगरी अर्किड स्कुलमा कक्षा १० मा पढ्दै गरेकी कृतिका भन्तानाले `द लिडर इन यु´ को चर्चा गरिन् । पुस्तकले लिडर बन्ने क्षमता आफैमा रहेको सन्देश दिन खोजेको उनले सुनाइन् । सोही विद्यालयमा कक्षा १० मा पढ्ने सर्जु थापाले मनिषा कोइरालाको जिजीविषा पुस्तकको टिप्पणी सुनाइन् । क्यान्सरले पीडित भएकी कोइरालाको बाँच्ने अभिलाषालाई किताबका राम्रोसँग उतारिएको उनले सुनाईन् ।

त्यसैगरी विश्वप्रकाश माविका गौरव लामिछानेले मेक्सिम गोर्कीको आमा उपन्यासको टिप्पणी राखे । गौरव उक्त विद्यालयमा कक्षा १० मा अध्ययनरत छन् । कार्यक्रममा अङ्कुरम् एकेडेमीका पल्लव अधिकारी र सोहम अधिकारी पनि सहभागी थिए । दुबै जना कक्षा ९ का विद्यार्थी हुन् । कार्यक्रममा पल्लवले `द वल्ड म्यान एन्ड द सि´र सोहमले गुलाबी उमेर उपन्यास बारेमा पठन अनुभूति सुनाए।

विद्यार्थीका अनुभव सुन्न अभिभावक र शैक्षिक व्यक्तिहरूको पनि उपस्थिति थियो । अक्षर समूह चितवनका अध्यक्ष रमेश प्रभात, गोरखापत्र दैनिकका पत्रकार वसन्त पराजुली र शिक्षक ईश्वरी भट्टले विद्यार्थीलाई पढाइको महत्त्व बारेमा बताएका थिए । अङ्कुरम् एकेडेमीमा कक्षा ८ मा पढ्ने आशीर्वाद सापकोटाको अध्यक्षतामा गरिएको कार्यक्रमलाई सनराइज स्कुलमा कक्षा १० मा पढ्ने आरोपा श्रेष्ठले सहजीकरण गरेकी थिइन् । एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेस र अङ्कुरम् एकेडमीसँगको सहकार्यमा गरिएको `म पनि पढ्छु´ कार्यक्रमलाई आगामी शृङ्खलामा विद्यालयमै लगेर सञ्चालन गर्ने योजना रहेको सम्पूर्ण किताबका सञ्चालक लेखराम सापकोटाले बताए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको