गैँडाकोट, असोज १५ । पूर्वी नवलपरासीको गैँडाकोटमा ३० करोड रुपैया लगानीमा इन्जिनियरिङ कलेज खुलेको छ । गैँडाकोट नगरपालिका वडा नं. १ धारापानीमा वेष्ट्रन एडभान्स कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सञ्चालनमा आउन लागेको हो ।
सुदुरपश्चिम विश्वविद्यालयबाट सम्वन्धन प्राप्त सो कलेजले यसै शैक्षिकसत्रदेखि कक्षा सञ्चालन गर्न लागेको कलेजका प्रबन्ध निर्देशक ई. राजन सापकोटाले जानकारी दिनुभयो । हाललाई कलेजले २ वटा कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । बिबिए र बिइ-सिभिल सञ्चालनका लागि अनुमति प्राप्त गरेको भन्दै सापकोटाले मंसिर १ गतेदेखि नियमित रुपमा कक्षा सञ्चालनको तयारी भैरहेको बताउनुभयो ।
कलेजका प्राचार्य ई. जगन्ननाथ अम्माईले बिबिए मा ९९ सिट र बिइ-सिभिल मा ४८ जना विद्यार्थीहरु पढाउने गरि तयारी भैरहेको छ । बिबिए र बिइ-सिभिल कलेजका २ वटै प्रोगामहरुमा गरिव तथा जेहेन्दार विद्यार्थीहरुका लागि १० प्रतिशत छात्रवृति छुट्याइएको छ । कलेजले बिबिए र बिइ-सिभिल मध्ये जुनसुकै विषयमा भर्ना हुने विद्यार्थीहरुका लागि पहिलो वर्ष विशेष छुटको ब्यवस्था गरेको समेत उहाँले बताउनुभयो ।
विद्यार्थीहरुको सुविधाका लागि कलेजले नाम चलेका बैंक तथा वित्तिय संस्थाहरुसँग एमओयू गर्ने तयारी गरेको छ । बिबिए पढ्ने विद्यार्थीहरुका लागि यो लाभदायक हुने कलेजको अपेक्षा छ । कलेजले बिई सिभिल विषय पढ्ने विद्यार्थीहरुका लागि आधुनिक ल्याव निर्माणको तयारी थालेको छ । बिइ-सिभिल विभागीय प्रमुख प्रशान्त थपलियाले विभिन्न विषयहरुको प्रयोगात्मक सिकाइलाई विशेष जोड दिनका लागि सुविधासम्पन्न आधुनिक ल्याव सञ्चालनमा ल्याउने जानकारी दिनुभयो ।
विद्यार्थीहरुलाई फिल्ड भिजिटमै लगेर सिकाईमा जोड दिनका लागि विभिन्न कलेजमा लामो समय अध्यापन गराएका अनुभवि प्राध्यापकहरु कलेजले छनौट गरेको बताउनुभयो ।