गैंडाकोट, असोज १६ । १८ औँ विश्व अहिंसा दिवसका अवसर पारेर मानव अधिकार तथा शान्ति समाज नवलपुरको आयोजनामा विश्वशान्तिको कामनासहित दीप प्रज्लन कार्यक्रम गैंडाकोटमा सम्पन्न भएको छ।
विभिन्न कारणले हिंसाबाट पीडित भएकाहरुको न्यायका लागि पैरवी र अहिंसाका पक्षमा आवाज बुलन्द गर्दै प्रत्येक वर्ष अक्टुबर २ मा संसारभर यो दिवस मनाउने गरिएको छ।
दीप प्रज्वलन कार्यक्रममा समाजसेवी वेदप्रसाद गौडेल प्रमुख अतिथि रहेका थिए। प्रमुख अतिथि गौडेलले कार्यक्रममा आफ्नो मन्तव्य राख्दैदिनप्रति दिन अहिंसाका विभिन्न घटना बढ्दै जाँदा विश्वलाई हिंसा नियन्त्रण गर्न निक्कै चुनौती भइरहेको पछिल्लो तथ्याङ्कले देखाएको र अहिले पनि हिंसाका घटना बढिरहेकाले हिंसाविरुद्ध बोल्ने र अभिव्यक्त गर्ने संस्थाहरू जागरूक हुनुपर्नेमा जोड दिए । समाजका जिल्ला सभापति कमल शर्माको सभापतित्वमा भएको कार्यक्रममा आफ्नो मन्तव्य राख्दै अध्यक्ष शर्माले द्वन्द्वको उचित व्यवस्थापन हुन नसक्दा बदला र प्रतिसोधको भाव प्रकट हुँदा हिंसा बढ्दै गइरहेको र विश्व शान्तिका लागि आआफ्नो क्षेत्रबाट सबैले प्रयास गर्नुपर्ने बताए ।
मानवअधिकार तथा शान्ति समाज नवलपुरका पूर्व सभापति सुरेन्द्रराज अधिकारीले कार्यक्रमका बारेमा प्रष्टाएका थिए। दीप प्रज्वलन कार्यक्रममा विष्णु शर्मा, चेतनाथ गौडेल, श्यामराज रानाभाट, लक्ष्मण कण्डेल, दया प्रसाद रेग्मी, जमुना शर्मा, ज्ञानकुमारी सापकोटा, देवका विश्वकर्मा, सुनिल ढकाल लगायतको उपस्थिति रहेको थियो। समाजका जिल्ला सदस्य सुजन अधिकारीले कार्यक्रमको सञ्चालन गरेका थिए।








