उपन्यासकारको पाइला मुक्तकमा

काठमाडौँ, १९ असोज । नेपाली समालोचना र आख्यान सिर्जनामा स्थापित स्रष्टा डा. अम्बिका अर्याल मुक्तकसङ्ग्रह लिएर आएकी छन् । असाेज १७ गते घटस्थापनाका दिन उनको नवीनतम कृति ‘भावदीप’ मुक्तकसङ्ग्रहको बागबजारस्थित पद्मकन्या क्याम्पस, डेनिस हलमा एक समारोहबिच सार्वजनिक गरियो ।

नारी साहित्यकार एवम् समालोचकहरूद्वारा स्थापित ज्ञानचक्षु साहित्य प्रतिष्ठानले यसको आयोजना गरेको हो । भिन्न शैलीमा गरिएको यस कार्यक्रममा कार्यक्रममा अपेक्षा बास्तोला, सोनु श्रेष्ठ, दिया थापा, दर्शना थापा, प्रसिका गौतम, श्रीसा श्रेष्ठ, विद्या पौडेल, विपश्वी ढकाल, यमुना शाह, अस्मिता बस्नेत, सम्भवी ढकालसहित एघार जना कन्याहरूको हातबाट उक्त कृति लोकार्पण गरिएको हो ।

नेपाली साहित्यमा नारी सहभागितालाई प्रभावकारी बनाउने उद्देश्यले स्थापित प्रतिष्ठानको आयोजना भएकाले उक्त कार्यक्रमका अध्यक्ष, सञ्चालक एवम् समीक्षक तथा विमाेचनका लागि उपस्थित अतिथिसमेत नारीहरू नै रहेका थिए । कार्यक्रमका अध्यक्षता डा. शान्तिमाया गिरी र सञ्चालन उषा आचार्यले गरेका थिए । समीक्षकद्वयमध्ये मनमाया पोखरेलले यश कृतिले नेपाली मुक्तकलेखनका इतिहासमा महत्त्वपूर्ण स्थान ओगट्न सफल रहेको दाबी गर्दै नारीचेतनाका दृष्टिबाट विश्लेषण गरेकी थिइन् भने दिव्येश्वरी जोशीले शिल्पपक्षका आधारमा लोकार्पित कृतिको गहन समीक्षा गरेकी थिइन् ।

यस्तै डा. शान्तिमाया गिरीले विषयवस्तु र समसामयिकताबारे प्रकाश पार्दै विविध विषयलाई समेटिएको समसामयिक कृतिका रूपमा यसको समीक्षा गर्दै कृतिकारले गरेका केही त्रुटिहरू आगामी कृतिमा परिमार्जित भएर आउने अपेक्षा प्रसतुत गरेकी थिइन् ।

कृतिसमीक्षाका अन्तरालमा प्रतिष्ठानका तर्फबाट राधिका गुरागाईं र रमा केसीले लोकार्पित कृतिका मुक्तक वाचन गरेका थिए भने सहभागीका तर्फबाट साहित्यकार एवम् सञ्चारकर्मीद्वय हेम भण्डारी र भगवती बस्नेत साथै साहित्यकार तथा सङ्गीतकार सन्तोष श्रेष्ठले पनि केही मुक्तक वाचन गरेका थिए ।

वरिष्ठ साहित्यकार पुष्कर लोहनीले शुभकामना मन्तव्य दिएका थिए । नेपाली उपन्यासमा नारीचेतना विषयमा विद्यावारिधि गरेकी र नेपाली विभाग, पद्मकन्या बहुमुखी क्याम्पसकी विभागीय प्रमुख डा. अर्यालका यसअघि अविश्रान्त (२०७५) उपन्यासलगायत आधा दर्जनजति समालोचना कृति प्रकाशित भइसकेका छन् । ‘भावदीप’ मुक्तकसङ्ग्रह सङ्गम बुक्स पब्लिकेसनले प्रकाशन गरेको हो ।

सम्बन्धित खवर