मङ्सिर १८ । ३३ औं अन्तर्राष्ट्रिय अपाङ्ता दिवसको अवसरमा गैंडाकोट नगरपालिकाद्वारा आयोजित “समावेशी तथा दिगो भविष्यको पूर्वाधार अपाङ्गता भएका व्यक्तिहरूको प्रबल नेतृत्व यसको आधार”भन्ने राष्ट्रिय नाराका साथ अपाङ्गता भएका व्यक्तिहरूलाई सम्मान तथा उनीहरूबीच अन्तरक्रिया कार्यक्रम नगरपालिका परिसरमा मङ्गलबार कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा नगर प्रमुख मदनभक्त अधिकारीले उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रत्येक व्यक्तिमा आफ्नो फरक क्षमता हुने भएकाले क्षमताहरुलाई बाहिर ल्याउन राज्य तथा नागरिक समाजको दायित्व हुने बताउँदै अपाङ्ग नागरिकहरुलाई सबल र सक्षम बनाउन सहयोग र हौसला प्रदान गर्न नगर लागि परेको बताए । कार्यक्रममा विशेष अतिथिका रूपमा उपस्थित भएका नगरका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले आफ्नो मन्तव्य राख्दै अपाङ्गता भएकाहरूको आर्थिक समृद्धि र सामाजिक पुनर्स्थापनाका लागि नगरपालिका सदैब सहयोग र सहकार्य गर्न तत्पर रहेको बताए ।
नगरभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई अन्तर्राष्ट्रिय दिवसका अवसर पारेर नगरले विभिन्न शीर्षकमा सम्मान समेत गरेको थियो। नगर उपप्रमुख शान्ति कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा कोइरालाले नगरभित्र अपाङ्गता व्यक्तिहरूमा भएको कला, सीप क्षमताहरूको पहिचान गरी रोजगारीका अवसरहरू सिर्जना गर्न नगर लागिपरेको बताइन्।
नगरले आयोजना गरेको उक्त कार्यक्रममा अपाङ्गता भएकाहरुको हक, हित अधिकार कार्यान्वयनमा समेत स्थानीय, प्रदेश र केन्द्रीय सरकारको उदासिनता रहेकोप्रती सहभागीहरुले दुःख व्यक्त गरेका थिए। उनीहरुले आयआर्जन र सीप प्रबर्द्धन गर्दै अपाङ्गता भएकाहरूलाई स्वावलम्वन बनाउन तीनै तहको सरकारलाई आग्रह समेत गरेका छन्। कार्यक्रममा शिक्षा शाखा प्रमुख बालकृष्ण चापागाई लगाएत देवेन्द्र गौतम, लिलाधर शर्मा, रत्नप्रसाद सापकोटा, सुरेन्द्र प्रसाद रेग्मी, प्रकाश सापकोटा,होमनाथ सापकोटा, शान्ता घर्ती, ईश्वरी जिसी लगायत नगरपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमलाई नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख सीता पौडेल लामिछानेले सञ्चालन गरेकी थिइन्।