गैंडाकोट, २० मङ्सिर । त्रिवेणी सूर्यभक्त – पतनादेवी वाङ्ममय पुरस्कार- २०८१ बाट साहित्यकार डाक्टर तुलसी भट्टराईलाई सम्मान गरिएको छ । बिहीबार गैंडाकोट नगरपालिकामा आयोजित कार्यक्रमका प्रमुख अतिथि प्राडा चूडामणि बन्धु र गैंडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले भट्टराईलाई सम्मान अर्पण गरेका हुन् ।
सम्मान कार्यक्रममा चितवन साहित्य परिषद्का अध्यक्ष केदारनाथ खनालले सम्मानित स्रस्टाका बारेमा चर्चा गर्दै नेपाली साहित्यमा तुलसी भट्टराईले महत्त्वपूर्ण योगदान गरेको बताए । त्यसैगरी काशीनाथ अधिकारी, गायत्री श्रेष्ठ, सुधा भट्टराई, गोविन्द कोइरालालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
गैंडाकोट नगरपालिकाका प्रमुख एवम् समाजसेवी मदनभक्त अधिकारीद्वारा हालै स्थापना गरिएको यो पुरस्कार त्रिवेणी साहित्य प्रतिष्ठानमार्फत प्रदान गरिएको हो । पहिलोपटक प्रदान गरिएको यो पुरस्कारको राशि ३३ हजार ३३३ रुपियाँ र सम्मानपत्र छ । त्रिवेणी साहित्य प्रतिष्ठानका उपाध्यक्ष भीम शर्माको अध्यक्षतामा कार्यक्रम भएको हो । सदस्य मुना धनञ्जयले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई सचिव रामहरि शर्मा शराहले सहजीकरण गरेका थिए ।
कार्यक्रममा सुधा भट्टराईद्वारा रचित कवितासङ्ग्रह `फर्केर हेर्दा´ को पनि विमोचन गरिएको छ ।