नवलपुर, मङ्सिर २५ । ७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मङ्गलबार विश्वभर विभिन्न ठाउँमा जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ । यसै अवसर पारेर मानव अधिकार तथा शान्ति समाज नवलपुरले ‘बढ्दो युवा पलायन र सैन्य प्रयोजनमा दुरुपयोगको खतरा’ विषयक नागरिक संवाद कार्यक्रम नवलपुरको काबासोतीमा सम्पन्न गरेको छ।
देश विकास गर्ने जनशक्ति भनेको जोश, जाँगर र नयाँ सोच बोकेका युवा भएकाे तर युवा वर्ग नै अहिले देशमा अकल्पनीयरूपले घट्दै गएकाले युवा शक्तिको सही सदुपयोग गर्दै दोस्रो तथा तेस्रो मुलुकहरूमा सैन्य प्रयोजनमा नेपालीहरूको दुरुपयोगको खतरा रहेको पूर्व न्यायाधीश तथा कार्यक्रमका प्रमुख अतिथि ऋषिराम अधिकारीले बताएका छन्।
उक्त विषयको संवाद कार्यक्रममा स्थानीय नागरिक, जनप्रतिनिधि, प्रशासनिक क्षेत्रका कर्मचारी हरू र मानव अधिकारकर्मीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय उपसभापति राजेन्द्र पौडेल, समाजका पूर्व अध्यक्ष रामहरी शर्मा शराह, कावासोती नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष डोरमान गिरी लगायत अतिथिहरू रहेका थिए। नवलपुर जिल्ला शाखा अध्यक्ष कमल शर्माको सभापतित्वमा भएको कार्यक्रमलाई केन्द्रीय सदस्य देवराज भट्टराईले सहजीकरण गरेका थिए।