
गैंडाकोट, माघ ०९। गैंडाकोट ६ का फरक क्षमता भएका र अपाङ्ग भइकन आत्मनिर्भर बन्नुपर्छ भन्ने मान्यता राख्ने कृष्ण सुवेदीलाई गैंडाकोट नगरपालिकाले इलेक्ट्रिक व्हीलचेयर प्रदान गरेको छ।
अपाङ्ग संघ नगरका अध्यक्ष समेत रहेका कृष्ण सुवेदीलाई गैंडाकोट नगरपालिकाका तर्फबाट रु एकलाख साठी हजार बराबरको इलेक्ट्रिक व्हीलचेयर बुधबार एक कार्यक्रमका बीच मेयर मदन भक्त अधिकारीले प्रदान गरेका हुन् । अपाङ्ग भइकन स्वावलम्बी कृष्ण सुवेदीले उक्त व्हीलचेयरमा विभिन्न घरायसी सामान समेत बेचबिखन गर्न मिल्ने गरी व्हीलचेयरको डिजाइन गरिएको छ।
व्हीलचेयर सुवेदीलाई प्रदान गर्दै नगरप्रमुख अधिकारीले अपाङ्गता भएका व्यक्तिहरुका लागि दैनिक जीवनयापन र स्वावलम्बी बन्नमा सहज हुने बताउँदै उनले आफ्नो नगरमा अपाङ्गमैत्री भवन निर्माण गरिएको भएपनि त्यसमा थप संरचना थप्ने तयारी भइरहेको बताए । उक्त इलेक्ट्रिक ह्विलचेएर नारायणी बहुप्राविधिक शिक्षालय भरतपुरको इन्फिनिटी ल्याब मार्फत इन्जिनियर सुनिल परियार लगायतको टिमले तयार पारेको हो।