
गैंडाकोट, १५ माघ । गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मंगलबार शहीद दिवसको अवसर पारेर आफ्नै मुख्य कार्यालय गैंडाकोट परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
५५ औँ पटक रक्तदान गरेका रक्तदाता श्यामसुन्दर लामिछाने र पहिलोपटक रक्तदान गरेकी प्राप्ति सापकोटालाई ब्लडब्याग हस्तान्तरण गर्दै कार्यक्रमका प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले उद्घाटन गरेका थिए । कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि अधिकारीले भने – `रक्तदान गर्नाले अरूको जीवनमात्र बच्दैन, रक्तदान गर्ने व्यक्ति स्वयंको शरीरसमेत स्वस्थ रहने हुँदा सम्पूर्णलाई रक्तदान गर्न आग्रह गर्दछु ।´
शहीद दिवसका अवसरमा गरिएको उक्त रक्तदान कार्यक्रममा २३ महिलासहित कुल १२२ जनाले रक्तदान गरेका गण्डकी बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सुवेदीले जानकारी दिए । संस्थाकी कोषाध्यक्ष शकुन्तला न्यौपाने तिवारीले संयोजन गरेको उक्त कार्यक्रम संस्थाका सचिव केशवप्रसाद शर्माले सञ्चालन गरेका थिए । सहकारी संस्थाका अध्यक्ष गोविन्द सुवेदीको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।