
गैंडाकोट,माघ २२ । गैंडाकोटका ३३ सय १६ किशोरीहरुलाई भोलिदेखि एचपिभि खोपलगाईने भएको छ। एचपिभि खोप सम्बन्धी जानकारी दिने उद्देश्यले गैंडाकोट नगरपालिका स्वास्थ्य शाखाले संचारकर्मीहरूका लागि आयाेजना गरेकाे अभिमुखीकरण कार्यक्रममा सो कुरा जानकारी गराईएको हो।
गैंडाकोट नगरपालिका भित्र माघ २३ गतेदेखि २८ गतेसम्म कक्षा ६ देखि १० कक्षासम्मका तीन हजार तीनसय १६ जना छात्राहरूलाई खोप लगाईने गैंडाकोट नगरपालिकाका जनस्वास्थ्य अधिकृत माधव आचार्यले जानकारी दिनुभयो।माघ २३ गतेदेखि गैंडाकोटका १८ वटै वडाहरूमा ६० खोप कार्यकर्ता र १२० स्वयंसेविका मार्फत उक्त खोप दिन लागिएको उहाँले बताउनुभयो।
सबैभन्दा धेरै जनक नमुना माविमा ४५१, कालिका माविमा ३१८, रत्नराज्य लक्ष्मी माविमा २४८, सुर्योदय बोर्डिङ्गमा १९३, लक्ष्मी मावि अमरापुरीमा १८२ छात्रा रहेका छन्। त्यस्तै सबैभन्दा थोरै शिसु निकेतन ईङ्गलिस स्कुल गैंडाकोटमा २ मा ३ जना र विरेन्द्र आवि रतनपुरमा २ जना छात्रा रहेको जनस्वास्थ्य अधिकृत प्रकाश पोख्रेलले बताउनुभयो।
खोप अवधिभर विद्यालय भन्दा बाहिर रहेका उक्त उमेर समूह र कक्षामा अध्ययनरत औद्योगिक क्षेत्र तथा सडक निर्माण र बिभिन्न पेशा व्यवसायका कारण बाबुआमासँग रहेका १५० जना छात्रालाई पनि यस खोप अभियानमा समावेश गर्ने समेत लक्ष्य रहेको आचार्यले बताउनुभयो।
पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान आजबाट सुरुवात भएको छ। नेपालमा आज माघ २२ गतेदेखि एचपीभी खोप अभियानमार्फत कक्षा ६ देखि १० मा अध्ययनरत किशोरी तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्षका किशोरीलाई खोप लगाइने छ । पाठेघरको क्यान्सरलाई निवारण गर्ने लक्ष्यका साथ सरकारले एचपीभी खोप अभियान २०८१र८२ सञ्चालन गर्ने निर्णय गरेको हो ।
नवलपुरमा १७ हजार किशोरीलाई महिलामा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइने भएको छ ।