गैंडाकोटको हुर्जिल गाँउमा पहिलो पटक राष्ट्रिय प्रसारण लाइनको विद्युत पुग्यो

गैँडाकोट,फागुन ०३ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका वडा नं. १८ को हुर्जिल गाँउमा पहिलो पटक राष्ट्रिय प्रसारण लाइनको विद्युत पुगेको छ । पुरानो बस्ती भएको गाउँ भए पनि सो क्षेत्रमा अहिलेसम्म विद्युत सेवा नपुग्दा स्थानीयवासीले वैकल्पिक माध्यमबाट बिजुली बत्ती बाल्दै आएका थिए ।

बुधबार साँझ गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले विजुलीको स्वीच अन गरेपछि हुर्जिल गाँउमा पहिलो पटक बिजुली बलेको हो । बिजुली बलेपछि स्थानीयवासी हर्षित भएका छन् । टुकीको भरमा बस्न बाध्य स्थानीयवासी घरघरमा बिजुली पुगेपछि खुशी भएका हुन् ।

कार्यक्रममा बोल्दै गैँडाकोट नगरपालिका मेयर मदनभक्त अधिकारीले अव गाउँको विकास र आर्थिक गतिविधि चलायमान बनाउन विद्युतीकरणले बाटो खोलिदिएको बताउनुभयो । उहाँले बिजुली नहुँदा कुटानी पिसानीदेखि पढाइ लेखाइमा समस्या भोग्दै आएका स्थानीयवासीले अब भने सहज महसुस गर्ने विश्वास व्यक्त गर्नुभयो ।

गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले गैँडाकोट १८ को हुर्जिल गाउँमा विजुली बलेसँगै  गाउँमा विकासको सुरुवात भएको धारणा राख्नुभयो । नगरपालिकाले दुर्गम बस्तीको विकासका लागि काम गरिरहेको र आगामी दिनमा समेत यसलाई निरन्तरता दिने उहाँले बताउनुभयो ।

वडाअध्यक्ष तिलबहादुर चितौरेले कैयौ वर्षदेखि स्थानीयहरु अन्धाकारमा बसिरहेको भन्दै अवका दिनमा सो समस्या हटेर गएको बताउनुभयो । बत्ती नहुँदा बालबालिकाहरुको पठनपाठनमा समेत समस्या थियो उहाँले भन्नुभयो -“बालबालिकाहरुको भविष्य समेत अव उज्यालो हुने भएको छ ।” हुर्जिल गाउँमा ५० भन्दा बढी घरधुरी रहेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको