मौलाकालिका समाज केन्द्रले गर्यो कार्य योजना निर्माणका लागि अन्तरक्रिया कार्यक्रम

गैंडाकोट, फागुन २७ । मौलाकालिका समाज केन्द्र नेपाल गैंडाकोटले आफ्नो आगामी कार्य योजना निर्माणका लागि नगरपालिकाका जनप्रतिनिधि तथा स्थानीयको सुझाव, जिज्ञासा एवं गुनासो सहितको अन्तरक्रिया कार्यक्रम संस्थाकै सभाहलमा सोमबार सम्पन्न गरेको छ।

अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि रहेका वडा नम्बर १ का वडाध्यक्ष सुरेन्द्रराज रेग्मीले यस क्षेत्रको पर्यटकीय विकासका लागि मौलाकालिका समाज केन्द्र नेपालले गरेका क्रियाकलापहरूमा वडा सरकार सँगसँगै हातेमालो गर्न तयार रहेको बताउँदै मौलाकालिका मन्दिर लगायतका धार्मिक स्थान शान्तिवन बाटिका मौलाकालिका पिकनिक स्पोर्ट, केन्द्रले सञ्चालनमा ल्याएको व्यवस्थित पार्किङ सेवा,शिक्षा स्वास्थ्य र समाज परिवर्तनका निम्ति केन्द्रले ल्याउने हरेक कार्यक्रमहरूमा वडा सरकारले सहकार्य गर्ने बताएका छन्।

मौलाकालिका समाज केन्द्र नेपालको नयाँ कार्यसमिति निर्माण भएसँगै नगरपालिका तथा वडाभित्र गर्नुपर्ने आवश्यक योजनाहरू बनाउनका लागि उक्त कार्यक्रम गरेको केन्द्रका अध्यक्ष गणेश अधिकारीले जिकिर गरेका छन्। उनले आफ्नो संस्थाबाट समग्र नगरलगायत आफ्नो वडाभित्र आवश्यक पर्यटकीय सम्भावनाहरूको खोजी गर्दै समाजका हरेक क्रियाकलापमा प्रत्यक्ष रूपमा आफ्नो संस्थाको संलग्नता रहने बताए ।

कार्यक्रममा जनप्रतिनिधि संघसंस्थाका प्रतिनिधि वडा तथा नगरका स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो। मौलाकालिका समाज केन्द्र नेपालले आगामी कार्य योजनासहितको अन्तरक्रिया कार्यक्रममा हरिप्रसाद सापकोटा, वेदप्रसाद गौडेल, शालिग्राम सापकोटा, लक्ष्मण थापा, फडिन्द्र राज आचार्य, रामबहादुर थापा, ठाकुरप्रसाद सापकोटा, चुडामणि ढकाल लगायतले समग्र वडा तथा नगरभित्र रहेका विविध समस्याहरू प्रति केन्द्रलाई सजगता अपनाउँदै अघि बढ्न सुझाव दिएका थिए। केन्द्रलाई समाजप्रति समर्पित हुन आग्रह गर्दै समाजसेवी डिलाराम कण्डेलले अन्तरक्रिया कार्यक्रममै केन्द्र सञ्चालन गर्न सहज होस् भनी आर्थिक सहयोग समेत गरेका थिए।

मौलाकालिका समाज केन्द्रका उपाध्यक्ष नरेश आचार्यले उपस्थित सम्पूर्णलाई स्वागत र केन्द्रका पूर्व अध्यक्ष प्रेमप्रसाद सापकोटा एवं कार्यसमिति सदस्य पुरुषोत्तम गौडेलले कार्यक्रमको सहजीकरण गरेका थिए । केन्द्रद्वारा सञ्चालित कार्यक्रमलाई सचिव रमेश ढकालले सञ्चालन  गरेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको