फोनिजको ८ औं महाधिवेशन र मेरा अनुभव

वैशाख २, काठमाण्डौं । फोनिजको ८ औं महाधिवेशन सम्पन्न गरी लुम्बिनीबाट काठमाडौं फर्के लगत्तै आज वैशाख २ गतेदेखि नियमित काममा फर्केको छु ।

मलाई फोनिज अध्यक्षको जिम्मेवारीमा देख्न चाहने तमाम प्रतिनिधि, शुभचिन्तक र मेरो अभियानमा विगत ३ वर्षदेखि समर्पित फोनिजभित्र र बाहिरका अग्रजहरू, मार्गदर्शकहरूको माया र विश्वासलाई स्मरणमा राख्नेछु । तपाइँहरूलाई अभिमत प्रकट गर्ने अवसर प्रदान गर्न सकिनँ, क्षमा दिनुहोला ।

 

महाधिवेशनस्थलमा देखिएका अस्वभाविक गतिबिधिका कारण अन्य थुप्रै जटिल परिस्थिति जन्मिने खतरा देखेपछि मैले उमेदवारी फीर्ता लिएको हुँ । लिडरले परिणाम भन्दा क्षतिको संभावना बढ्दै जाँदा निर्णयबाट पछि हट्नुपर्छ । त्यहि गरें । र, निर्णय लिनु अघि सबैसँग पुग्न सकिएन, धेरैसँग परामर्ष लिएँको थिएँ । अहिले ठिकै गरिएछ भन्ने लागेको छ । हामी दुइ आकांक्षी मध्ये मैले छाडें । प्रिय साथी Lucky Chaudhary जी त्यसपछि सर्वसम्मत अध्यक्ष चुनिनु भयो । असल संवाद र सहकार्य कायमै छ । समय व्यवस्थापनको चुनौति बाहेक उहाँक‍ा ९९ क्षमतासँग परिचित छु, पक्कै राम्रै हुनेछ ।

 

थारू समुदाय र तराई मधेशबाट नेतृत्व गर्ने अभिलाषा पुरा भएको छ, (*यसपछिको पूर्व लेखन अस्पष्ट हुनपुगेकोले पुन: सच्याइएको छ) पूर्वअध्यक्षहरूले पनि यसो गरे असल हुने सल्लाह दिनुभयो । छाड्दै गर्दा यो परिणाम आएछ म औधि खुसी छु। तर, यो नीतिगत हुनुपर्छ, रणनीतिमा आधारित हुनुपर्छ । थारू जस्तै चेपाङ र शेर्पा, दनुवार, थकाली याख्खाको नेतृत्व विकासका लागि फोनिजभित्र लगानी हुनुपर्छ । अन्यथा, व्यक्तिले पद पाउला, यता समुदायको दिगो सशक्तिकरण खालीनै रहन्छ । तसर्थ, अबको कतिवटा महाधिवेशन पछि महिलालाई अध्यक्ष, महासचिव जस्ता कार्यकारी पदहरूमा पुराउने ? त्यो स्पष्ट रणनीतिक खाका अघि सार्ने मेरो इच्छा मसँगै सिमित हुनपुगे ।

 

बौद्धमार्गी हौं । चरमपन्थी (Extremist) भन्दा मध्यमार्गी बन्दाखेरि नै सबैको हीत हुने कुरा पवित्र बुद्धभूमि लुम्बिनी पुगेर बिर्सने कुरै भएन । आदिवासी जनजातिको मूल चरित्र भनेको साझा हीत प्रवर्द्धन गर्नुहो । यसपाली यो चिन्तनको अभ्यास कम भन्दा कम मात्रामा भएको पक्कै हो । अधिक सक्षम र फोनिजलाई निरन्तर योगदान गर्दै आएका सिमान्त सङ्गठनमा आवद्ध र स्वतन्त्र उम्मेदवारहरू किनाराकृत हुने पुगे । धेरै वर्ष लगाएर जन्मेका ती लिडरहरूले आफ्नो काम देखाउन पाएनन् । यस्तै प्रवृत्ति दोहोरियो भने उनीहरू फोनिज आन्दोलनको मूलधारमा कहिल्यै फर्कने छैैनन ।

 

मत प्रभावी र Dominant पत्रकार सङ्गठनहरूले आ आफ्नो वर्चस्व कायम राख्ने अभ्यास अघिसार्दा (सदस्य संख्याका हिसाबले) सानो सङ्गठनमा आवद्ध उमेदवारहरू मतपेटिकाको पिँधबाट माथी उठ्न सकस खेपिरहेका थिए । मध्यरातका ती पराजित पात्रहरूको आँकडा समातेर कथित ठूलाहरूले सफलाको मानक सिर्जना गरिसके, लेखिसके, पोष्टगरिसके । तर त्यही असन्तुलित फर्मेसनमा आदिवासी जनजातिका जटिल मुद्दाहरू पनि त दफन भए होला नि ! तपाइँले याद गर्नु भयो कि भएन ? भोली आन्दोलनको मैदानमा व्यानरको एक टुप्पो र अर्को छेउ समाउने मान्छेको जब अभाव खट्किन्छ, त्यतिबेला महसुस हुनेनै छ ।

 

३ वर्षसम्म फोनिज परिवारमा अचम्मकै एकता हुन्छ । हामी सबैजना एकतावद्ध भएर ‘सञ्चारमा समावेशिता’ कायम गर्न संघर्ष गर्छौं । मिलेरै श्रोत खोज्छौं । कार्यक्रमहरू हुन्छन् । ३ दिन ३ रात गरेर यता भूगोलबाट उता भूगोल पुग्छौं । ३ वर्षपछिको महाधिवेसनमा त्यो भावना रोष रागमा परिणत हुन्छ। विशाल भावनामा कित्ताकाट हुन्छ, गराइन्छ । महाधिवेशनदेखि महाधिवेशनमा झुल्किने अनुहारनै फेरि फुत्त नेतृत्वमा आउँछन् । व्यावसायिक नेतृत्व गर्ने संभावित पात्रहरू ती प्रपञ्चमा टिक्न नसकी विदा हुन्छन् । संस्थागत जीवनमा महाधिवेसन आएपछि ‘राजनीति’ प्रकट हुन्छ । राजनीति र संस्थागत एकतालाई एउटै आँखाले हेर्नु मुर्खता सावित हुन पुग्दो रहेछ । यो यसपाली मैले सिकेको ठूलो पाठ हो । तपाइँहरूले के के सिक्नु भयो कुन्नि !

 

फोनिज पनि जीवन्त र गतिशील समाजको एउटा अंश भएकाले यी उतारचढाबहरूलाई स्वभाविक मानेर नयाँ सहकार्यका लागि अघि बढ्नुको विकल्प छैन । यद्यपि ‘काल नपल्किऊन’ ।

निश्चयनै राजनीतिक आन्दोलन मार्फत व्यवस्था परिवर्तन हुन्छ । सामाजिक रूपान्तरणलाई सफल बनाउन सकिन्छ । सामाजिक अभियानहरूबाट राजनीतिले आन्दोलनको एजेण्डा ग्रहण गर्दछ । समाजिक आन्दोलनको मुद्धा सिर्जना गर्नेकाम फोनिज जस्ता क्याम्पियन र एड्भोकेसी गर्ने सङ्गठनहरूले गर्ने गर्दछन् । तसर्थ, फोनिज कमजोर हुन वा कमजोर बनाइ राख्न कदापि छुट छैन । दमदार फोनिजले समावेशी विरोधीहरूलाई चुनौति सिर्जना गरिरहने हुँदा कमजोर र कुपोषित फोनिज बनाउन अनेक प्रायोजित चेष्टाहरू विभिन्न माध्यम बनाएर लागू गरिरहेका हुन्छन् । चुनाव जिताउने नाउँमा पात्रहरूको प्रयोग गरिरहेका हुन्छन्। जुन पात्र मार्फत नै एजेण्डमा खेल्न सकियोस् । संगठनभित्र बढी भन्दा बढी निराशा छर्न सकियोस् । सिर्जनात्मक गतिविधी पातलो बनाउँदै लान सकियोस् । धन्न हामीसँग चाहिएकै आकारमा ठूला ठुला फ्लेक्स ब्यानर छाप्ने मेसिनहरू उपलब्ध छन् र संस्था गतिलै अवस्थामा भएको भान पार्न सकिरहेका हुन्छौं ।

 

‘चलायमान फोनिज’ बनाउने केही लोभलाग्दा योजनाहरू थिए । सङ्गठन, सञ्जाल साथमा हुँदा मात्रै ती योजना र कार्यक्रमहरू लागूगर्न सकिन्छ । किन फोनिजमा मरिहत्तै गर्दैछस् भनेर कतिपयले सोध्ने गरिन्छ । एउटा योजनाकार र स्वप्नद्रष्टा लिडरले सामुहिकता खोज्नुको कारण यही नै हो । उसलाई फोनिज जस्ता मञ्चहरूको उपयोग गर्ने अवसर प्रदान गरिनुपर्छ । “के गर्न खोज्याथिस् त? भन ।” भनेर नयाँ कार्यसमितिले सोध्यो भने सब्बै बुझाउने छु । काम लाग्ने जस्तो देखिएमा लागू गर्दा भयो । अन्यथा असाध्यै जुझारू नेताहरू नयाँ समितिमा चुनिएका छन् । केही मेरा सपनाहरू पुरा हुनेमा आशावादी छु ।

 

‘आफू हुँदा ठीक अरू हुँदा बरबाद’ देख्ने आँखा बोक्नै नपरोस् । फोनिजको औपचारिक यात्रा ८ औं महाधिवेशनदेखि टुङ्गिएको छ ।

म अब शिक्षक/प्रशिक्षक भएर पत्रकार उत्पादनमै केन्द्रित हुनेछु । लामो लेख्न परेकोमा क्षमा चाहन्छु । फोनिजमा रहँदा र महाधिवेशनका दौरानमा मबाट मन दुख्ने व्यबहार भएको भए क्षमा दिनुहोला । तपाइँहरूबाट स्नेह र मार्गदर्शनमा कमी नआवस्  । भवतु सब्ब मङ्गलम । जय फोनिज ।

 

लेखक : अमरध्वज लामा, निवर्तमान उपाध्यक्ष फोनिज

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको