गैंडाकोट, वैशाख ३ । नेवा: मिसा दबु गैंडाकोट नगर समितिको दोस्रो अधिवेशन तथा साधारण सभा बिहीबार गैंडाकोटमा सम्पन्न भएको छ। समिति अध्यक्ष सीता श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रममा नेवा देय दबुका केन्द्रीय उपाध्यक्ष हरिकुमार श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
सभालाई उद्घाटन गर्दै प्रमुख अतिथि श्रेष्ठले नेवार समुदायको पहिचान भाषा, कला र संस्कृतिमा आधारित रहेको उल्लेख गर्दै त्यसको संरक्षण र प्रवर्द्धनमा यस्ता संस्थाहरूको भूमिका महत्वपूर्ण हुने बताउँदै उनले परम्परागत ज्ञान, सीप र सांस्कृतिक मूल्यहरूलाई नयाँ पुस्तासम्म पुर्याउन संगठित प्रयास आवश्यक रहेको धारणा राखे ।
सभामा बोल्दै अध्यक्ष सीता श्रेष्ठले नेवा: मिसा दबु गैंडाकोट नगर समितिले विगतदेखि नै लोपोन्मुख अवस्थामा रहेका कला, भाषा र संस्कृतिको संरक्षणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिँदै उनले महिलाहरूको क्षमता अभिवृद्धि गर्न सिपमूलक तथा आयमूलक तालिमहरू सञ्चालन गर्दै आएको र आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याउने जिकिर गरिन्। सभामा दोस्रो कार्यसमितिका विभिन्न कार्यक्रमहरूमा सहयोग गर्ने सहयोगीहरूलाई सम्मान समेत गरिएको थियो। सभामा शिवजंग श्रेष्ठ, सोमकुमार श्रेष्ठ, योगेन्द्र नारायण श्रेष्ठ, सुरज प्रधान, शिवकुमार श्रेष्ठ, सन्तोष श्रेष्ठ, रेखा श्रेष्ठ, निर्मला श्रेष्ठ लगायत अतिथिहरूको उपस्थिति रहेको थियो।
सभामा सचिव शर्मिला श्रेष्ठले वार्षिक प्रगति समेटिएको प्रतिवेदन सभा समक्ष प्रस्तुत गरेकी थिइन्। कोषाध्यक्ष बबिता श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। सदस्य बीमाला श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै उपस्थित सम्पूर्णलाई कार्यक्रम सफल बनाउन सहयोग गरेकोमा धन्यवाद व्यक्त गरिन् ।
दाेश्राे अधिवेशन तथा साधारण सभाले आगामी कार्ययोजना तय गर्दै संस्थागत सुदृढीकरण, सांस्कृतिक संरक्षण तथा समुदायको सहभागिता बढाउने विषयमा समेत छलफल गरेको उक्त सभामा भने नयाँ कार्यसमिति केही हप्तापछि सर्वसम्मत रुपमा तय गर्ने गरी समापन गरिएको थियो।







