गैंडाकोट, जेठ २७ । गैडाकोट वडा नम्बर ५ मा रहेको मातृभूमि टोल विकास समितिले मनोसामाजिक सुस्वास्थ्य अभिमुखीकरण कार्यक्रम नगरपालिका सभा हलमा मङ्गलबार सम्पन्न गराएको छ।
आफ्ना टोलबासीहरूको मनोसामाजिक सुस्वास्थ्यको ख्याल गर्दै मनोविमर्श सेवा सहित उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।सहभागीहरूले मानसिक स्वास्थ्य समस्या र आत्महत्या जोखिमका कारण र समाधानबारे ज्ञान प्राप्त गरेका छन् ।
अभिमुखीकरण कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य दिँदै गैंडाकोट वडा नम्बर ५ का वडाध्यक्ष रत्नप्रसाद सापकोटाले हामीहरू शारीरिक स्वास्थ्य मात्र होइन मानसिक स्वास्थ्यलाई पनि प्राथमिकतामा राख्न सक्नुपर्ने र मनोरोगी समाजमा भए उक्त रोगीलाई समेत स्वास्थ्य प्रति सचेत बनाउन आफू लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा नगरकार्यपालिका सदस्य एवं वडा सदस्य शान्ति न्यौपानेले यस्ता तालिमहरूले मानसिक स्वास्थ्य चेतना फैलाउन, समस्याहरूको सही पहिचान गर्न, समुदायमा परामर्श सेवाहरू सन्चालन हुनुमा सहयोग पुर्याउन र मानिसमा सकारात्मक परिवर्तन गराउन महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरिन्। कार्यक्रममा नेपाली कांग्रेसका नगर सचिव गोविन्द घिमिरे लगायत राधा कँडेल एकनाथ रिजाल अतिथिहरू रहेका थिए। एकीकृत मानसिक स्वास्थ्य केन्द्र भरतपुर चितवनले प्राविधिक सहयोग गरेको उक्त कार्यक्रमलाई वडा नम्बर ५ को कार्यालयले आर्थिक सहायता गरेको थियो। सबिना भुसाल र सुनिता जिरैको प्रशिक्षकत्वमा सम्पन्न उक्त कार्यक्रममा उपस्थित सम्पूर्णलाई सह-सचिव विष्णु रिमालले स्वागत मन्तव्य राखेकी थिइन्। कार्यक्रमको सहजीकरण सचिव चुन्न न्यौपानेले गरेका थिए। अभिमुखीकरण कार्यक्रमको अध्यक्षता भने मातृभूमि टोल विकास संस्थाकी अध्यक्ष बिन्दु लामिछानेले गरेकी थिइन्।







